नबिलमा एनबी बैंक गाभ्न राष्ट्र बैंकको अन्तिम स्वीकृति, असारभित्र एकीकृत कारोबार हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश(एनबी) बैंक गाभ्नको लागि अन्तिम स्वीकृति दिएको छ ।

राष्ट्र बैंक सञ्चालक समितिको बुधबार बिहाना बसेको सञ्चालक समितिको बैठकले नबिल बैंकलाई एनबी बैंकलाई गाभ्नको लागि अन्तिम स्वीकृति दिने निर्णय गरेको हो ।

‘नबिललाई एनबी बैंक गाभ्नको लागि अन्तिम स्वीकृत दिने निर्णय भएको छ,’राष्ट्र बैंकका एक सञ्चालकले भने ।

राष्ट्र बैंकले सञ्चालक समितिले गाभ्नको लागि अन्तिम स्वीकृति दिएको पत्र नबिल बैंक तथा एनबी बैंकमा पठाउने छ । नबिल बैंक स्रोतका अनुसार राष्ट्र बैंकबाट पत्र आएपछि एकीकृत कारोबार गर्ने प्रक्रिया अगाडि बढ्ने छ । नबिल बैंकले असार मसान्तभित्र एकीकृत कारोबार गर्ने तयारी गरेको जनाएको छ ।

राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबारको लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा अनुमति लिनुपर्छ ।

नबिल बैंकले एनबी बैंकलाई १००: ४३ स्वाप अनुपातमा गाभ्न लागेको हो । यो भनेको एनबी बैंकको १०० कित्ता बराबरको सेयर नबिलमा गाभिएपछि ४३ कित्ता हुने छ ।

नबिल बैंकले एनबीलाई गाभेपछि प्रमुख कार्यकारी अधिकृतमा एनबीका निवर्तमान सीइओ ज्ञानेन्द्र ढुंगाना हुनेछन् । सञ्चालक समिति नबिलको हुने छ । नबिलले एनबीलाई गाभेपछि बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ ।

निक्षेप २ खर्ब २१ अर्ब हुने छ । यस्तै कर्जा ३ खर्ब ७ अर्ब हुने छ । नबिल बैंकको शाखा १३५ वटा शाखा, एटिएम १८५ रहेका छन् भने नेपाल बंगलादेश बैंकको शाखा ९९ र एक्सटेन्सन काउन्टर ८ वटा तथा एटिएम ८१ वटा रहेका छन् । प्राप्तिपछि कुल शाखाको संख्या २३४ वटा पुग्नेछ ।


क्लिकमान्डु