अर्थतन्त्र र यसका अवयवमा सरोकारवालाको अनावश्यक हस्तक्षेप अक्षम्य हुन्छ



अर्थतन्त्रमा नीतिगत हस्तक्षेपको आवश्यकता तत्काल देखिएको वर्तमान अवस्थामा त्यसको विपरीत विभिन्न सरकोकारवालाको अनावश्यक हस्तक्षेप भइरहेको देखिन्छ । चाहे त्यो आर्थिक वर्ष २०७९/८० बजेट ड्राफ्ट गर्ने सिलसिला होस् वा करका दरहरु हेरफेर गर्ने क्रम होस् ।

त्यस्तै हिजो आज सेयर बजारका केही स्वार्थ समूहहरु (जसलाई संगठनको मान्यता सायद धितोपत्र बोर्डले दिएको छैन)ले सूचनाको पहुँचमा प्रथम हुने अभिप्रायले हस्तक्षेपकारी वा दबाबकारी भूमिका खेल्ने प्रयास गरेको देखिन्छ । जुन देशको अर्थतन्त्र र पुँजीबजारका विकास र त्यसको गतिलाई बाधकसिद्द भइरहेको देखिन्छ ।

अमूख जमातका केही पात्रहरुको सूचनामा पहिलो पहुँचको उद्देश्य प्राप्ति गर्न गरिने यस्ता गतिविधिलाई धितोपत्र बोर्डले सम्बोधन गरेको शैली नै गलत छ ।

सम्बोधनका नाममा कार्यान्वयन समिति बनाउनुको अर्थ के ? के धितोपत्र बोर्ड ती सबै मागसँग सम्बन्धित बुँदाहरु पूरा गर्ने सोचमा छ ? के ती सबै बोर्डले सम्बोधन गर्न सक्छ ? यस्ता गतिविधिहरुका कारण खुला बजारको अवधारणालाई चुनौती दिइरहेको भान हुन्छ ।

माग र आपूर्तिका आधारमा चलायमान हुने बजारलाई यस्ता हस्तक्षेपहरुले दिग्भ्रमित गर्ने प्रयास गर्न खोजेको जस्तो आभास हन्छ । तसर्थ उक्त मागका बुँदाहरुमा छलफल र बहस बिना नै कार्यान्वयन समिति बनाउने धितोपत्र बोर्डको बचपना देखेर उदेक लाग्छ ।

नीरव पुडासैनी

यस्ता समूहलाई सधैं मान्यता दिनुको अर्थ उनीहरुले आम लगानीकर्ताहरुको वास्तविक तथा जायज गुनासाहरु नियामक तथा राज्यसम्म पुग्न अवरोध पुर्याउन सक्छन् । किनभने उनीहरुको उद्देश्य आफू अनुकुलका मागहरु मात्र पूरा गराउनु हुन्छ । जसरी आम सेयरधनी र कम्पनी सञचालकहरुको बीचमा भीआईपी सेयरधनी नामक जमात हाबी छ । यही भीआईपी सेयरधनीहरुको कारण कम्पनीको साधारणसभा फगत कानूनी औपचारिकतामा मात्रै सीमित भइरहेको छ । त्यसैको निरन्तरताका लागि मात्र ती समूह हुन् भने भन्नु केही नहोला ।

माग र आपूर्तिका आधारमा चल्नुपर्ने बजारमा यस्तै गतिविधिका कारण कहिलेकाँही दिग्भ्रमित हुन्छ । यसको उदाहरणस्वरुप अवसर गुम्यो भनेर चिन्तित हुनु वा अवसर गुम्ने डर (फियर अफ मिसिङ्ग अपच्र्युनिटी) पैदा हुनु सेयर बजारमा घातक सावित हुन्छ । यस्तै फियर धितोपत्र बोर्डले कार्यान्वयन समिति बनाएपछिको बजार कारोबारमा केही दिन देखिएको थियो ।

अमूखहरु यस्तै अवसरमा च्याँखे थाप्ने दाउ पर्खेर बसेका हुन्छन् । साथै कहिलेकाँही यस्तो अवस्थाको सिर्जना आफैं गराइदिन्छन् वा गराउने प्रयत्न गर्छन् । लगानीकर्ताले बजारमा अवसर कहिल्यै गुम्दैन भनेर बुझुन जरुरी हुन्छ, तर त्यसको समय हुन्छ । यति बुझ्न सके आन्दोलनको पछि लाग्नु पर्दैन । किन्ने, बिच्ने र थप्ने समय चिन्नु नै राम्रो कारोबारी/लगानीकर्ता हुनु हो ।

स-साना सूचनाहरु होस् वा समाचारहरु, सूचनाले बजारलाई सिधा प्रभाव पार्छन् । सकारात्मक वा नकारात्मक प्रभाव त्यो सूचनाका आधारमा फरक हुन्छन् । त्यसको प्रत्यक्ष प्रमाण हेर्न बोर्डले गठन गरेको कार्यान्वयन समिति लगत्तै कारोबार अध्ययन गर्नु उत्तम हुन्छ । हुन त त्यो प्यानिक खरिद (बाइङ) हो तथापि सूचना लगत्तकै पछिको ।

बजारको सुन्दरता यसैमा छ र यसैले रोमाञ्चित बनाउँछ । इनक्यास गर्न सक्नु वा नसक्नु त्यसैको जगमै चल्छ बजार । तर प्रभावको गहिराइ, तीव्रता वा उदासिनता क्षमता फरक हुनसक्छ । सबै सूचना सधैभरी एउटै महत्व राख्छन् भन्न सकिन्न ।

नकारात्मक सूचना थोरै वा धेरै समयपछि सकारात्मक हुन पनि सक्छन् र त्यसको विपरीत हुन पनि सक्छन् (बिलोम) । खेल र खेलाडीका आधारमा यसको तीव्रता वा उदासिनता निमेषमा नै परिवर्तन हुन्छन् ।

अर्थतन्त्रका सूचकहरुले बजारलाई प्रत्यक्ष प्रभाव परिरहेको हुन्छ । यो सत्यलाई लगानीकर्ताहरुले जति चाँडो बुझन् सकने त्यति नै उनीहरुलाई कारोबार गर्न सहज हुन्छ । र, यस्ता समूहहरुको हौवाहरुमा रुमलिन आवश्यक हुँदैन ।

अर्थतन्त्रमा संकट छ । विदेशी मुद्राको खपत कमका गर्नका लागि केही कदम पनि चालियो ।

तर, कदाचित् मन्दी आएन भने जनता फेरि हामीबिरुद्ध खनिन्छनन् भनेर केही नगरौं बरु पर्ख र हेरौं भन्ने सोचका कारण त्यस्ता समूहहरु बजेट निर्माणदेखि पुँजीबाजारका उतारचढावसम्म हाबी हुने प्रयत्न गर्छन् ।

यस्तै सोचमा सरकारमा रहेका जिम्मेवारहरु र तिनका समर्थक नेताहरु छन् ।

प्रतिपक्ष कुन बेला संकट आउला र सरकारले केही उपायहरु नगरेका कारण संकट आयो भनेर फलाक्न पाइएला भनेर ढुकेको देखिन्छन् । यिनले खोजेको ३० को दशक नै हो जस्तो लाग्दैछ ।

अहिले त्यसको सफाट प्रतिबिम्ब नदेखिए पनि क्रमिकरुपमा देखिँदै पनि जाला । तर यो सोचाइ असत्य होस् कामना मात्र गर्न सकिन्छ ।

कमसेकम बिलासी वस्तुको आयातमा केही समय रोक लगाए हुन्न ? अरु त केही छैन देशले गर्न सक्ने ।

जब विदेशिएका नेपालीहरु रोजगारी गुमाएर घर फर्किने अवस्था आउँछ त्यसबेलाको चित्रण गरेर सुधारात्मक उपायहरु लागू गरौंला भन्दै तत्कालका लागि सरकारलाई चुनावको मुख देखाएर लोकप्रिय हुने छुट छैन । मुलुक आर्थिकरुपले संकटग्रस्त छ त्यसैले बेलैमा सुधारात्मक उपायहरु अपनाउन ढिला नगरौं ।


क्लिकमान्डु