नेपालमा लगानी बढाउन अष्ट्रेलियन राजदूत वोल्कसँग चेम्बर अध्यक्ष मल्लको आग्रह



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी गर्नका लागि अष्ट्रेलियन सरकार समक्ष आग्रह गरेको छ ।
नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी वोल्कसँग काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज भएको

भेटमा चेम्बरका पदाधिकारीले जलविद्युत्, वन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीका लागि आग्रह गरेका हुन् ।

नेपाल र अष्ट्रेलियाबीच ६० वर्षभन्दा पुरानो कुटनीतिक सम्वन्धलाई थप बलियो बनाउन सरकारी र निजी क्षेत्रबाट उच्चस्तरीय आर्थिक साझेदारीको आवश्यता रहेको अध्यक्ष मल्लले बताए ।

अष्ट्रेलियाले नेपालको वन क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न लामो समयदेखि आर्थिक एवं प्राविधिक सहयोग गरेको भन्दै अध्यक्ष मल्लले यसको निरन्तरतामा जोड दिए । उनले जडिबुटी एवं खानी जन्य तथा धातुहरुको प्रशोधन गर्ने उद्योगमा लगानी गरी अन्तर्र्राष्ट्रिय बजार प्रवर्द्धन गर्न समेत राजदूत वोल्क समक्ष आग्रह गरे ।

‘समृद्ध मुलुक अष्टे«लियाले थुप्रै देशमा लगानी गरिरहेको छ । तर नेपालमा लगानी निकै नगन्य मात्रामा छ । भारत तथा बंगलादेशको विद्युत् बजारलाई मध्यनजर गर्दै अपार सम्भावना भएको नेपालको जलविद्युतमा लगानी गर्नका लागि आग्रह गर्दछु,’ राजदूतसँग मल्लले भने ।

वैदेशिक लगानीका लागि नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर लगानी गर्न अध्यक्ष मल्लले राजदूत वल्क समक्ष आग्रह गरे ।

नेपालका विद्यार्थीहरु अष्ट्रेलियामा अध्ययनका लागि गइरहेको सन्दर्भमा अध्यक्ष मल्लले त्यहाँ शैक्षिक संस्थाहरुबाट नेपाली शैक्षिक संस्थाहरुलाई सम्वन्धन दिई शिक्षाको गुणस्तर सुधारमा सहयोग गर्न समेत राजदूत वल्कसमक्ष आग्रह गरे ।

उनले नेपाल र अष्ट्रेलियाबीच सीधा हवाई सेवा बिस्तार हुन सके दुबै देशलाई फाइदा पुग्ने विश्वास समेत व्यक्त गरे ।

जवाफमा राजदूत वल्कले नेपालबाट वार्षिक ५० हजार विद्यार्थीहरु अष्ट्रेलिया जाने गरेको भन्दै शैक्षिक सुधार तथा भविश्यका लागि आफ्नो सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् ।

उनले नेपालमा लगानीका लागि नीतिगत समस्या भएकाले अष्ट्रेलियाबाट अपेक्षित लगानी आउन नसकेको बताइन् ।


क्लिकमान्डु