पाँच वर्षसम्म चार किलोमिटर सडक निर्माण नगर्ने व्यवसायीलाई कारबाही गर्दै विभाग



काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले पटकपटक म्याद थप गर्दा पनि पेप्सीकोला–मूलपानी–ब्रह्मखेल चार किमी सडक कालोपत्र नसकिएपछि निर्माण व्यवसायीलाई कारबाहीको तयारी भएको छ ।

डिभिजनले आव २०७३/७४ मा चार किमी सडक निर्माणका लागि रु १९ करोडको लागतमा ठेक्का गरेको थियो । पहिलोपटक १८ महिना समय दिए पनि भण्डार/थोडुङ/वर्ल्डवाइड/महालक्ष्मी जेभीले काम नगरेपछि पटकपटक स्पष्टीकरण सोधिएको डिभिजनका इञ्जिनियर तुलाकान्त चौधरीले जानकारी दिए ।

ठेक्काको पाँच वर्षमा निर्माण कम्पनीले एक हजार ८०० मिटर सडक मात्र कालोपत्र गरेको छ । दुई हजार २०० मिटर सडकमा अझै भएको छैन ।

सडकको दायाँबायाँ लगाएको पर्खाल पनि ठाउँ ठाउँमा भत्केको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं। ४ र ५ जोड्ने मनोहरा बोदिनी खहरेमा कम गुणस्तरको काम भएको स्थानीय सीताराम नेपालले गुनासो गरे ।

यो खहरेमा दायाँबायाँ निर्माण गरिएको खहरे बाढीले बगाएको छ । निर्माण व्यवसायीले काम गरिसकेको केही महिनामै आएको बाढीले पर्खाल भत्काएको हो ।

खहरे खनेर गहिरो बनाउँदा हिमपाइप राखेर सवारी तार्न सकिने गरी बनाइएको अस्थायी पुल बगाएको उनले बताए । खहरेको बाढीले सडक जलमग्न हुने गरेको छ ।

डिभिजनले तीन पटकसम्म सकड निर्माणको समय थप गरेको छ । निर्माण व्यवसायीलाई पटकपटक काम गर्नका लागि पत्राचार गरिएको डिभिजन कार्यालयले जनाएको छ ।

पछिल्लोपटक असार १० गते पनि छिटो काम गर्न भन्दै डिभिजनले पत्राचार गरेको थियो । काम नगरे किन कानूनी कारबाहीको प्रक्रिया अघि नबढाउने भनी पत्राचार गरिएको छ ।

तीन दिने म्याद दिएर कार्यालयमा हाजिर हुन निर्माण व्यवसायीलाई निर्देशन दिए पनि आएका छैनन् । प्रतिक्रियाका लागि निर्माण व्यवसायी उमेश लामालाई पटकपटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

ठेक्का भएको पाँच वर्षदेखि अलपत्र बनेको सडकका कारण यस क्षेत्रका हजारौँ स्थानीयवासी मर्काका परेका छन् । यो सडक निर्माण हुँदा काठमाडौँको उत्तरपूर्वी भेगका मानिसलाई कोटेश्वर नाकाबाट काठमाडौँ छिर्न सहज हुन्छ ।

सडक जामका बेला पनि यो सडक वैकल्पिक मार्गका रूपमा उपयोग गर्न सकिन्छ । यो सडकबाट साँखु हुँदै मेलम्ची जान पनि सहज हुन्छ । सडक पूरा भएपछि कोटेश्वर, गौशाला, चावहिल, जोरपाटीलगायत स्थानको जाम छलेर यात्रु साँखु पुग्न सक्छन् ।-रासस


क्लिकमान्डु