कडाइकै बीच मासिक ३१ लाख जोर जुत्ताचप्पल आयात, निर्यात अनुदानले कस्तो प्रभाव पार्ला ?



काठमाडौं । सरकारले उच्च आयातका कारण विदेशी मुद्रा सञ्चिति घट्दै गएको र तरलता अभाव भएको भन्दै कडाइ गर्ने नीति अगाडि बढाएको थियो ।

सरकारले गत पुस र माघमा उच्च आयात हुँदै आएको वस्तुमा प्रतितपत्र (एलसी) को व्यवस्था गरेको थियो ।

सरकारले उच्च आयात हुँदै वस्तुको आयातमा शतप्रतिशत र ५० प्रतिशत मार्जिनको व्यवस्था गरेको थियो । आयात कम गर्नका लागि राष्ट्र बैंकले सो नीति अपनाए पनि हालसम्मको तथ्याङ्क हेर्दा अपेक्षाकृत सफलता प्राप्त भएको छैन ।

राष्ट्र बैंकले जारी गरेको परिपत्रअनुसार कडाइ गरेको वस्तुमध्ये जुत्ताचप्पल पनि एक हो । नेपालले खपत हुनेभन्दा पनि बढी जुत्ताचप्पल उत्पादन गर्न सक्ने क्षमता रहेपनि विभिन्न देशबाट आयात हुने विदेशी ब्रान्डका जुत्ताचप्पलको बजारमा दबदबा कायमै छ ।

जसले गर्दा उत्पादन क्षमता हुँदाहुँदै पनि बजारमा खुम्चिनु पर्ने अवस्था रहेको छ ।

नेपालले वार्षिक ४ करोड ५० लाखको हाराहारीमा आयात गर्ने गरेको सरकारी तथ्याङ्कले देखाउँदछ । नेपालले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा मात्रै ७ अर्ब ९३ करोड ७७ लाख ८५ हजार रुपैयाँ बराबरको ४ करोड २८ लाख ४१ हजार ७३७ जोर जुत्ताचप्पल आयात गरेको भन्सार विभागको तथ्याङ्क छ ।

त्यस्तै, सरकारले उच्च आयात भएको भन्दै कडाइ गर्ने नीति अगाडि सारे पनि कुनै असर नदेखिएको तथ्याङ्कले उल्लेख गर्दछ । सामान्य अवस्थामा ३१ लाख बढी आयात हुँदै आएको जुत्ताचप्पलमा शतप्रतिशत मार्जिनको व्यवस्था गरेपनि सोही हाराहारीमा जुत्ताचप्पल आयात हुँदै आएको छ ।

नेपालले पुसमा जुत्ताचप्पल आयातमा शतप्रतिशत मार्जिनको व्यवस्था गरेको थियो । सो महिना नेपालले ७४ करोड ७९ लाख ७६ हजार रुपैयाँ बराबरको ३१ लाख ४९ हजार ४६२ जोर जुत्ताचप्पल तथा सोल आयात गरेको छ ।

त्यस्तै, माघमा ९० करोड २० लाख रुपैयाँको ३२ लाख ७५ हजार ९३४ जोर, फागुनमा ६३ करोड ५५ लाख ७४ हजार रुपैयाँको ४३ लाख ९८ हजार जोर, चैतमा ७६ करोड १७ लाख रुपैयाँको ३९ लाख ६६ हजार ३०४ जोर, वैशाखमा ४२ करोड १४ लाख ७५ हजारको ३२ लाख ८५ हजार जोर र जेठमा ५१ करोड १० लाख ३३ हजारको ३१ लाख ४२ हजार ६५७ जोर जुत्ता चप्पल तथा कच्चा पदार्थ आयात गरेको छ ।

नेपाल उच्च आयात गर्दै आएको जुत्ताचप्पलमा सरकारले आगामी वर्षदेखि निर्यातमा सहज वातावरण बनाएको छ । तर, आन्तरिक बजारमा भएका उद्योगीहरूले भने आयातित जुत्ताचप्पलसँग प्रतिस्पर्धा गरी बिक्री गर्नुपर्ने चुनौती रहेको छ ।

नेपालको आन्तरिक बजारको खपत वार्षिक करिब १० करोड रहेको छ । त्यसमा ६५ प्रतिशत माग आन्तरिक उत्पादनबाट आपूर्ति हुने गरेको फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालले जनाएको छ ।

एशोसिएशनका अनुसार ५ करोड जुत्ताचप्पल आन्तरिक उत्पादनबाट खपत हुन्छ भने ४ करोड ५० लाखको हाराहारीमा आयात हुने गरेको छ ।

नेपालको आन्तरिक उत्पादन क्षमता वार्षिक १६ करोड भएपनि आयातित जुत्ताचप्पलको बजार ठूलो भएकाले जुत्ताचप्पल उद्योगले क्षमताअनुसार उत्पादन गर्न नसकेको एशोसिएशनको अध्यक्ष नानीराज घिमिरे बताउँछन् ।

‘नेपालको उत्पादन क्षमता उच्च छ । तर, बजारमा आयातित जुत्ताचप्पलको दबदबा हुँदा आन्तरिक उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन,’ उनले भने ।

उनका अनुसार सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन तथा आयातमा कडाइ गर्न सके वार्षिक ६ करोड जोर जुत्ताचप्पल निर्यात गर्न सक्ने क्षमता छ ।

अनुदानले कस्तो प्रभाव पर्ला ?
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् उच्च निर्यात सम्भावना भएका फुटवेयर वस्तुको निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था मिलाएको छ । उक्त व्यवस्था मिलाए पनि आन्तरिक बजारमा भने असर नपर्ने अध्यक्ष घिमिरेको भनाइ छ ।

नेपालबाट उच्च परिमाणमा निर्यात गर्ने उद्योग एउटाबाहेक अन्य छैन । गोल्ड स्टारबाहेक अन्य उद्योग सञ्चालनमा भए पनि उच्च परिमाणमा निर्यात गर्न सक्ने क्षमता नभएको उनको भनाइ छ ।

‘सरकारले निर्यातमा दिएको अनुदानले उद्योगीहरू उत्साहित त देखिन्छन् । तर, निर्यातका लागि सोहीअनुसारको उद्योग सञ्चालन गर्न आवश्यक छ,’ उनले भने ।

नेपालले जुत्ताचप्पललाई आवश्यक कच्चा पदार्थ पनि विभिन्न देशबाट आयात गर्नुपर्ने भएकाले अन्य विदेशी जुत्ताचप्पलसँग प्रतिस्पर्धा गर्न निकै चुनौती रहेको उनको बुझाइ छ ।

साथै, निर्यात गर्नका लागि ८ प्रतिशत अनुदानको व्यवस्थाले आन्तरिक उत्पादन बढ्ने र आयात घट्न भने नसक्ने उनले उल्लेख गरे ।

‘निर्यातमा अनुदानको व्यवस्थाले न त आन्तरिक उत्पादन बढ्छ । न त आयात नै घट्छ,’ उनले भने, ‘अहिले जुत्ताचप्पल जस्तो अवस्थामा आगामी दिनमा पनि सोही अवस्थामा रहनेछ ।’

नेपालले चालु आथिर्क वर्षको ११ महिनाको अवधिमा ४ करोड २८ लाख जोर जुत्ताचप्पल आयात गर्दा १ अर्ब ५ करोड ६८ लाख रुपैयाँको ५१ लाख ३१ हजार ७८९ जोर जुत्ताचप्पल तथा सोल निर्यात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।


क्लिकमान्डु