१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्ने जानकारी दिएको हो ।

बोलकबोलबाट ब्याजदर निर्धारण हुने ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

इच्छुक खरिदकर्तामध्ये प्रतिस्पर्धीले निष्काशित रकमको ८५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड रुपैयाँ र अप्रतिस्पर्धीले १५ प्रतिशत अर्थात् दुई अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र खरिद गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ । ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १५ गते हुने छ भने यसको ब्याज अर्धवार्षिक रुपमा हुने र ब्याजमा आयकर लाग्ने सूचनामा उल्लेख छ ।

खरिदकर्ताले घटीमा ५० हजार रुपैयाँ र बढीमा कूल निष्काशित रकमको सीमा नबढाइ ५० हजार रुपैयाँले भाग गर्दा निशेष भाग जाने अङ्क बराबर खरिद गर्न पाउने छन् । दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत् हुने ऋणपत्र खरिदको बोलकबोल मङ्गलबार हुनेछ । यस्तो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋणसमेत लिन सकिने छ ।

२६ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले २६ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो ।

केन्द्रीय बैंकले २८ दिन अवधिको दुई अर्ब रुपैयाँ, ९१ दिन अवधिको नौ अर्ब १० करोड रुपैयाँ, १८२ दिन अवधिको १० अर्ब र ३६४ रुपैयाँ दिन अवधिको पाँच अर्ब रुपैयाँ गरी कूल २६ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल आज बोलकबोल गर्न लागेको हो ।

बैंकले आइतबार जारी गरेको सूचनानुसार २८ दिने ट्रेजरी आगामी साउन १० गते, ९१ दिने ट्रेजरी आगामी असोज ११ गते, १८२ दिने ट्रेजरी आगामी पुस १२ गते र ३६४ दिने ट्रेजरी २०८० असार १२ मा परिपक्व हुनेछ ।

यसअघि यही असार ६ मा बैंकले २५ अर्ब ५३ करोड रुपैयाँको टे«जरी बिल बिक्री गरेको थियो । यसको बोलकबोल अनलाइनमार्फत् आजै हुने बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।

तरलता अभाव कायमै, ट्रेजरी बिलको ब्याजदर उच्च

मुद्रा बजारमा देखिएको तरलता व्यवस्थापनमा चुनौती कायमै छ । एक वर्ष अगाडि तीन प्रतिशत आसपास रहेको ट्रेजरीको ब्याज हाल दोहोरो अङ्कमा पुगेको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले २८ दिनको ट्रेजरी बिलको ब्याजदर ८.१७ प्रतिशत छ ।

यस्तै ९१ दिनको १०.४८ प्रतिशत, १८२ दिन अवधिको १०.५० प्रतिशत तथा ३६४ दिन अवधिको ट्रेजरीको १०.५२ प्रतिशत ब्याजदर रहेको छ । एक वर्ष अगाडि ३६४ दिने ट्रेजरीको व्याजदर ३.७२ प्रतिशत थियो ।-रासस


क्लिकमान्डु