इक्यान ललितपुरको शैक्षिक मेला साउनमा, उच्च शिक्षाबारे निःशुल्क काउन्सिलङ पाइने



काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ललितपुरले आगामी साउन महिनामा शैक्षिक मेला आयोजना गर्ने भएको छ ।

इक्यान ललितपुरका अध्यक्ष उपेन्द्रदेव ढकालका अनुसार साउन २०, २१ र २२ गते ललितपुरको एकेडेमी अफ कुलिनरी आटर्स (पुरानो भिएफएक्स भवन)मा शैक्षिक मेला आयोजना गर्न लागिएको जानकारी दिए ।

विशेष गरी उच्च शिक्षाका अध्ययनका लागि स्वदेश तथा विदेशका विभिन्न कलेज तथा विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थी तथा उनीहरुका अभिभावकलाई लक्षित गरी मेला आयोजना गर्न लागिएको उहाँको भनाइ छ ।

मेला प्लस टु र स्नातक तह सकाएर उच्च शिक्षाका लागि तयारी गरिरहेका विद्यार्थीहरुका लागि लक्षित गरिएको छ ।

वान अप प्रालिको व्यवस्थापनमा सञ्चालन हुने मेलामा विशेष गरी ललितपुरमा सञ्चालन भइरहेको शैक्षिक परामर्श संस्था, स्वदेशी तथा विदेशी कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

मेलामा ५० वटाभन्दाबढी कन्सलटेन्सी, विभिन्न कलेज तथा विश्वविद्यालय सहभागी हुनेछन् भने २५ हजारभन्दा बढी विद्यार्थी तथा अभिभावकले मेलामा सहभागी भइ जानकारी प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

मेलामा विद्यार्थी तथा अभिभावकहरुले कलेज तथा विश्वविद्यालयमा भर्नाको प्रक्रिया, छात्रवृत्ति तथा सम्पूर्ण प्रक्रियाबारे दक्ष कन्सलट्यान्टमार्फत् जानकारी लिन सक्नेछन् ।

मेलामा नेपाली विद्यार्थीका उच्च शिक्षाका लागि प्रमुख रोजाइमा रहेका गन्तव्यहरु अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका, जापान, यूरोप, बेलायतलगायत देशका रहेको कलेज तथा विश्वविद्यालयका बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् ।

‘विद्यार्थी तथा उनीहरुका अभिभावकहरुले स्वदेशी तथा विदेशी कलेज तथा विश्वविद्यालयमा अध्यापन हुने विषय, त्यसका लागि लाग्ने खर्च, त्यहाँ रहँदा आइपर्ने समस्या तथा सुविधाका विषयमा पर्याप्त जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको हो,’ अध्यक्ष ढकालले भने ।

इक्यानका केन्द्रीय मेला संयोजक बासुदेव दाहालका अनुसार मेलाले विद्यार्थीहरुले मेलामा निःशुल्क करिअर काउन्सिलङ पाउनुका साथै विभिन्न जानकारी प्राप्त गर्नेछन् ।

इक्यान ललितपुरका निवर्तमान अध्यक्ष सुरेन्द्र पोखरेलले इक्यान ललितपुर शैक्षिक मेलाले विद्यार्थी तथा अभिभावकका जिज्ञाशा मेटाउन सहयोग पु¥याउने अपेक्षा गरिएको बताए ।

विशेष गरी कोरोना महामारीपछि उच्च शिक्षाका लागि विभिन्न देशको अवस्था, उनीहरुले लिएका नीति, त्यहाँको वातावरणबारे मेलामा जानकारी दिइनेछ ।

मेलामा विद्यार्थीहरुले अंग्रेजी भाषा आईईएलटीएस, टोफेल, पीटीई तथा जापानिज भाषा जेएलपीटी, न्याटलगायतका सम्बन्धित देशको भाषा परीक्षादेखि भिसा प्रोसेसिङ, बायोमेट्रिक तथा स्वास्थ्य परीक्षणसँगै खर्चबारे जानकारी लिनसक्नेछन् ।

साथै, विद्यार्थीहरुले उच्च शिक्षाका लागि आवश्यक पर्ने बैंकिङ कर्जाबारे जानकारी लिनका लागि समेत मेलामा बैंकहरुको उपस्थिती हुनेछ । विद्यार्थीहरुले शैक्षिक कर्जा लिनका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियाबारे स्पष्टरुपमा जानकारी लिन पाउनेछन् ।


क्लिकमान्डु