वाणिज्य बैंकले एकैदिन लिए करिब २४ अर्ब स्थायी तरलता सुविधा
काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव चुलिँदै गएपछि वाणिज्य बैंकहरुले एकै दिन २३ अर्ब ९४ करोड १० लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले शुक्रबार नै २३ अर्ब ९४ करोड १० लाख रुपैयाँ एसएलएफ सुविधा लिएका हुन् ।
शुक्रबारसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ८४ खर्ब ९१ अर्ब ६९ करोड ७६ लाख रुपैयाँ स्थायी तरलता सुविधा लिएका हुन् ।
बैंकहरुले गत चालु आवको साउनदेखि असार १० गतेसम्म उक्त रकम राष्ट्र बैंकबाट अल्पकालीन सापटी लिएका हुन् । बैंकहरुले ४ हजार ४९३ वटा कारोबारबाट उक्त रकम लिएका हुन् ।
बैंकहरुले एक साता अवधिका लागि एसएलएफ सुविधा लिने गरेका छन् । सरकारी ऋणपत्र धितो राखेर यस्तो सुुविधा लिन पाउने व्यवस्था रहेको छ । बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्छन् । बैंकले ७ दिन अवधिका लागि उक्त रकम लिएका हुन्छन् ।
असारमा मात्रै ४ खर्ब बढी
राष्ट्र बैंकका अनुसार असार शुरु भएयता बैंकहरुले ४ खर्ब १५ अर्ब ५१ करोड रुपैयाँ एसएलएफ सुविधा लिएका छन् । अहिलेसम्मको सबैभन्दा बढी चैत २८ गते बैंक तथा वित्तीय संस्थाले ४९ वटा कारोबारबाट १ खर्ब ९९ करोड ४० लाख रुपैयाँ एसएलएफ सुविधा लिएका थिए ।
सामान्य अवस्थामा बैंक तथा वित्तीय संस्था एसएलएफ सेवा लिन केन्द्रीय बैंकमा जाँदैनन् । ब्याजदर महंगो पर्ने भएका कारण पनि बैंकहरुले यस्तो सेवा कम लिन खोज्छन् । तर जब तरलता अभाव चुलिँदै जान्छ तब मात्रै बैंकहरु चर्को ब्याज तिरेरै भएपनि एसएलएफ सुविधा लिन्छन् ।
बैंक तथा वित्तीय संस्थामा तरलता संकट चुलिएपछि केन्द्रीय बैंकबाट सरकारी ऋणपत्र वा सरकारले जारी गरेको बण्ड धितो राखी एसएलएफ सेवा लिन सकिन्छ ।
अहिले तरलता अभाव हुनुको प्रमुख कारण निक्षेपभन्दा बढी कर्जा बिस्तार हुनुलाई मानिन्छ । कोरोना महामारी न्यून भएपछि चालु आवको शुुरुबाट नै बैंकहरुले आक्रमकरुपमा कर्जा प्रवाह गरेका थिए । जसको असर अहिले परेको छ ।
अहिले बैंकमा निक्षेप समेत घट्दै जाँदा कर्जा प्रवाह निकै न्यून बन्दै गएको छ । बैंकहरुले अन्तर बैंक कारोबार समेत गर्न नसक्ने भएपछि एक साताका लागि अल्पकालीन तरलता पूरा गर्न एसएलएफ लिँदै आएका छन् ।