जेठ महिनामा २६ अर्बले घट्यो चलनचल्तीमा रहेका नोट



काठमाडौं । जेठ महिनामा २६ अर्बले बजारमा चलनचल्तीमा रहेको नोट घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ महिनाको तथ्यांक अनुसार बजारमा अहिले ६ खर्ब ९ अर्ब रुपैयाँको चलनचल्तीको नोट रहेको छ । बैशाख मसान्तमा ६ खर्ब ३५ अर्ब रुपैयाँ चलनचल्तीमा रहेको नोट थियो ।

बैशाखमा स्थानीय तहको निर्वाचन भएको कारणले चैतको तुलनामा नोटको आपूर्ति बढेको थियो । स्थानीय निकायको निर्वाचनपछि प्रणालीमा पैसा फर्केको देखिएको हो ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट निर्वाचनको क्रममा बाहिरिएको पैसा प्रणालीमा फर्केको बताउँछन् ।

‘चैतमा भन्दा बैशाखमा नोटको माग बढेको थियो,निर्वाचन सकिएपछि बैशाखको तुलनामा जेठ महिनामा माग घटेको तथा प्रणालीमा पैसा फर्केको छ,’उनले भने ।

नोटको माग सबैभन्दा बढी असोज महिनामा हुने गर्छ । असोजमा दशैं पर्ने हुँदा नोट माग बढ्ने गरेको हो । गतवर्ष असोज महिनामा ७ खर्ब १३ अर्ब रुपैयाँ चलनचल्तीको नोट बजारमा रहेको थियो । जुन अहिले घट्दै ६ खर्ब ९ अर्बमा आइपुगेको छ ।


क्लिकमान्डु