जेठ महिनामा हालसम्मकै उच्च सुर्तीजन्य वस्तु आयात



काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा सुर्तीजन्य वस्तु आयात हालसम्मकै उच्च भएको छ । आयात भएको तथ्याङ्कअनुसार अन्य महिनाको तुलनामा जेठ महिनामा सबैभन्दा बढी सुर्तीजन्य वस्तु आयात भएको देखाउँछ ।

देशले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा ३ अर्ब ३९ करोड ६१ हजार रुपैयाँ बराबरको सुर्तीजन्य वस्तु आयात गरेको छ । उक्त आयातित सुर्तीजन्य वस्तुबाट नेपालले ३ अर्ब २३ करोड ६५ लाख ५४ हजार रुपैयाँ राजस्व महशुल संकलन गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

नेपालले ११ महिनाको अवधिमा ३ अर्ब बढीको सुर्तीजन्य वस्तु आयात गर्दा जेठ महिनामा मात्रै ६१ करोड ६७ लाख ९७ हजार रुपैयाँको आयात भएको छ । जुन हालसम्मकै बढी हो ।

भन्सार विभागको तथ्याङ्कअनुसार यसभन्दा अगाडिका महिनाहरूमा ३० करोडको हाराहारीमा आयात हुँदै आएको थियो । वैशाखमा नेपालले ३४ करोड ८८ लाख ११ हजार रुपैयाँ र चैतमा २१ करोड २१ करोड ६३ लाख १९ हजार रुपैयाँको आयात भएको तथ्याङ्कले उल्लेख गर्दछ ।

त्यसैगरी, फागुनमा १३ करोड ३४ लाख १६ हजार, माघमा ४३ करोड ४५ लाख ७८ हजार, पुसमा ४७ करोड ३१ लाख १५ हजार, मंसिरमा ३१ करोड २६ लाख ७८ हजार, कात्तिकमा १७ करोड ९२ लाख ५२ हजार, असोजमा २९ करोड ३० लाख ८९ हजार, भदौमा २५ करोड ६८ लाख ८० हजार र साउनमा १२ करोड ५३ लाख २६ हजार रुपैयाँको सुर्तीजन्य वस्तु आयात गरेको थियो । सो तथ्याङ्क हेर्दा जेठमा विगतको महिनाको तुलनामा दोब्बरले बढेको देखिन्छ ।

नेपालले उच्च आयातका कारण विदेशी सञ्चिति घट्दै गएको भन्दै कडाइ गर्दै आएको छ । राष्ट्र बैंकले गत पुस र माघमा ४७ वटा वस्तु आयातमा प्रतिपत्र (एलसी) खोल्नुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले आयातमा कडाइ गरेकोमध्ये सुर्तीजन्य वस्तु पनि एक हो । तर, राष्ट्र बैंकले कडाइ गरे पनि आयात भने कम हुन सकेको छैन, झनै बढ्दै गएको देखिन्छ ।

५ वर्षमा साढे १५ अर्ब बढीको आयात

नेपालले वार्षिक ३ अर्ब हाराहारीमा आयात गर्दै आएको सुर्तीजन्य वस्तु ५ वर्षको अवधिमा साढे १५ अर्ब बढीको आयात गरेको देखिन्छ । नेपालले आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्ममा १५ अर्ब ६३ करोड ५३ लाख ५१ हजार रुपैयाँको सुर्तीजन्य वस्तु आयात गरेको छ ।

त्यस्तै, आयात गरेको सुर्तीजन्य वस्तुबाट नेपालले १२ अर्ब ४३ करोड ७१ लाख १२ हजार रुपैयाँ राजस्व महशुल संकलन गरेको छ ।

नेपालले आव २०७३/७४ मा ३ अर्ब १८ करोड ७५ लाख ५१ हजार रुपैयाँको, आव २०७४/७५ मा ३ अर्ब ७ करोड ९५ लाख ५५ हजारको, आव २०७५/७६ मा २ अर्ब ८९ करोड ६८ लाख ९९ हजारको, आव २०७६/७७ मा ३ अर्ब २८ करोड ४२ लाख ७९ हजारको र आव २०७७/७८ मा ३ अर्ब १८ करोड ७० लाख ६६ हजार रुपैयाँको सुर्तीजन्य वस्तु आयात गरेको छ ।


क्लिकमान्डु