पर्यटनमन्त्री आलेलाई मन्त्रीका रुपमा काम गर्न रोक लगाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर



काठमाडौं । संस्कृृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईले बिहीबार सर्वोेच्च अदालतमा रिट दायर गरेका हुन् ।

मन्त्री आलेले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई अश्लिल भाषामा गाली गरेको र यसले सामाजिक वितृष्णालाई प्रोत्साहन गरेको भन्दै मन्त्री आलेको अश्लिल अभिव्यक्तिले क्षति पुर्याएको दाबी गरिएको छ ।

साथै, यसअघि पनि अछाम घर भइ मुम्बई बस्ने जगत ओलीलाई पनि अश्लिल भाषामा गाली गरेको अडियो सार्वजनिक भएको भन्दै यो सामान्य विषय नभएको रिटमा भनिएको छ ।

साथै, रिटमा मन्त्री आलेले पटक पटक देखाएको यस्तो व्यवहारका कारणले पदमा बसिरहन योग्य नरहेको भन्दै मुद्दाको अन्तिम किनारा नहुञ्जेल काम नगर्नु र गर्न नदिने भनि अन्तरिम आदेश जारी गर्न माग गरिएको छ ।

साथै, निजको विगतदेखिकै राष्ट्रिय छविमा धुमल्लिएको अवस्था भएको भन्दै यसरी सामाजिक रुपमा निर्लज्ज व्यक्ति भविष्यमा कुनै पनि सार्वजनिक पदमा आउन नहुने भएकाले आगामी निर्वाचनमा समेत प्रतिष्पर्धा गर्न समेत रोक लगाउने गरी निर्देशनात्मक आदेश जारी गर्न रिटमा माग गरिएको छ ।


क्लिकमान्डु