शनिबार ‘सीएनआइवाइइएफ नेपाल स्टार्टअप फेष्ट’ हुँदै, ५० करोडसम्म लगानी हुँदै



काठमाडौं । नेपालमा नवप्रवर्तन व्यवसाय (स्टार्टअप)को प्रवर्द्धन गर्न नेपाली युवा उद्यमी फोरम (सीएनआइवाइइएफ)ले शनिबार ‘सीएनआइवाइइएफ नेपाल स्टार्टअप फेष्ट’ आयोजना गर्ने भएको छ ।

सोल्टी होटलमा हुने उक्त मेलामा विभिन्न स्टार्टअपमा ५० करोड रुपैयाँसम्म लगानीको घोषणा हुने आयोजकले जनाएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त मेलामा उत्कृष्ट १० वटा स्टार्टअपले पिच गर्ने र उनीहरुको लगानीको आवश्यकताका आधारमा लगानी घोषणा हुने सीएनआइवाइइएफका अध्यक्ष मनिष श्रेष्ठले बताए ।

मेलाकी संयोजक आयुशी केसीले धेरै स्टार्टअपका लागि पुँजी, मेन्टरसिप र टीमको अभाव रहेको भन्दै त्यो समस्या समाधान गर्न यो मेला आयोजना गर्न लागिएको बताइन ।

आयोजना गर्न लागिएको उक्त कार्यक्रममा स्टार्टअपले आफ्नो लगानीका लागि प्रस्ताव पनि पेश गर्ने छन् ।

टीम भेन्चर, ग्लोबल इक्विटी फन्ड, आध्यन्ता फन्ड म्यानेजमेन्ट, हिमालयन क्यापिटल र टेलिभेन्चर पार्टरले संयुक्तरुपमा करिब ५० करोडको आशय दिइसकेको आयोजकले जनाएको छ ।

होटल हिमालयमा वैशाख २० गते भएको एक समारोहमा उक्त संस्थाहरुसँग आशयपत्रमा हस्ताक्षर भएको थियो ।

साथै, सोही समारोहमा नेपाल प्राइभेट इक्विटी एशोसियसन, इम्प्याक्ट हब, रोबोटिक्स एसोसियसन नेपाल (रान) र अन्तरप्रेरणासँग पनि सहकार्य गर्न सम्झौता भएको थियोे ।

मेलामा विभिन्न विधाका ७६ ओटा स्टार्टअपहरुलाई सम्मान गर्ने कार्यक्रम छ । ५० भन्दा धेरै स्टार्टअपले आफ्नो वस्तु तथा सेवाको प्रदर्शनी गर्नेछन् । एकदिने उक्त मेलामा प्लानल डिसकसन, इन्भेष्टर डेटिङ, रोबोटिक फुटबल, म्युजिकल कन्सर्ट जस्ता कार्यक्रम हुनेछन् ।

आयोजकले उक्त मेलामा स्वदेशी र विदेशी उद्यमी, लगानीकर्ता, विद्यार्थी, बुद्धिजिवी, पत्रकार गरेर ३ हजारको सहभागी हुने बताएको छ ।


क्लिकमान्डु