प्रदेश १ मा औद्योगिक कर्जा १२.४% ले बढ्यो, कुन क्षेत्रमा कति ?



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले प्रदेश १ मा औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार उक्त प्रदेशमा औद्योगिक कर्जा बढेको हो ।

०७८ पुस मसान्तसम्म बार्षिक बिन्दुगत आधारमा कुल औद्योगिक कर्जा १२.४ प्रतिशतले बढेको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ पुसमसान्तमा प्रदेश १ का बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ०.५ प्रतिशतले घटेर १ खर्ब ४४ अर्ब रहेको छ ।

गत वर्षको सोही अवधिमा यस्तो कर्जा १.३ प्रतिशतले घटेको थियो । औद्योगिक कर्जाहरुमध्ये गैर खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी १७.८ प्रतिशतले वृद्धि भएको छ । निमार्ण सम्बन्धी उद्योगमा प्रवाह भएको कर्जा सबैभन्दा बढी ३३ प्रतिशतले घटेको छ । यो अवधिमा निर्माणजन्य वस्तुको मूल्य उच्च भएका कारण निर्माणसँग सम्बन्धित गतिविधि प्रभावित भएकाले यस क्षेत्रमा प्रवाहित कर्जा घटेको देखिन्छ ।

प्रदेश १ मा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश २६.५ प्रतिशत रहेको छ । कुल औद्योगिक कर्जामध्ये गैरखाद्य वस्तु सम्बन्धी उद्योगर्फ सबैभन्दा बढी ४६.२ प्रतिशत र विद्युत, ग्यास तथा पानीतर्फ सबैभन्दा कम ०.७ प्रतिशत कर्जा प्रवाह भएको छ ।


क्लिकमान्डु