वाणिज्य बैंकले लिए ८४ खर्बबढी एसएलएफ सुविधा, असारमा मात्रै करिब साढे ३ खर्ब



काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव चुलिँदै गएपछि वाणिज्य बैंकहरुले ८४ खर्ब १७ अर्ब ४६ करोड १६ लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् ।

बैंकहरुले गत चालु आवको साउनदेखि असार ८ गतेसम्म उक्त रकम राष्ट्र बैंकबाट अल्पकालीन सापटी लिएका हुन् । बैंकहरुले ४ हजार ४४७ वटा कारोबारबाट उक्त रकम एसएलएफ सुविधा लिएका हुन् ।

बैंकहरुले एक साता अवधिका लागि एसएलएफ सुविधा लिने गरेका छन् ।सरकारी ऋणपत्र धितो राखेर यस्तो सुुविधा लिन पाउने व्यवस्था छ ।

बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्छन् । बैंकले ७ दिन अवधिका लागि उक्त रकम लिएका हुन्छन् ।

राष्ट्र बैंकका अनुसार असार ८ गते बुधबार मात्रै ४० वटा कारोबारबाट ६९ अर्ब ५१ करोड ३५ रुपैयाँ बैंकहरुले एसएलएफ सुविधा लिएका छन् ।

असारमा मात्रै करिब साढे ३ अर्ब
राष्ट्र बैंकका अनुसार असार शुरु भएयता बैंकहरुले ३ खर्ब ४१ अर्ब २८ करोड रुपैयाँ एसएलएफ सुविधा लिएका छन् । अहिलेसम्मको सबैभन्दा बढी चैत २८ गते बैंक तथा वित्तीय संस्थाले ४९ वटा कारोबारबाट १ खर्ब ९९ करोड ४० लाख रुपैयाँ एसएलएफ सुविधा लिएका छन् ।

सामान्य अवस्थामा बैंक तथा वित्तीय संस्था एसएलएफ सेवा लिन केन्द्रीय बैंकमा जाँदैनन् ।

ब्याजदर महंगो पर्ने भएका कारण पनि बैंकहरुले यस्तो सेवा कम लिन खोज्छन् । तर जब तरलता अभाव चुलिँदै जान्छ तब मात्रै बैंकहरु चर्को ब्याज तिरेरै भएपनि एसएलएफ सुविधा लिन्छन् ।

बैंक तथा वित्तीय संस्थामा तरलता संकट चुलिएपछि केन्द्रीय बैंकबाट सरकारी ऋणपत्र वा सरकारले जारी गरेको बण्ड धितो राखी एसएलएफ सेवा लिन सकिन्छ ।

अहिले तरलता अभाव हुनुको प्रमुख कारण निक्षेपभन्दा बढी कर्जा बिस्तार हुनुलाई लिइएको छ । कोरोना महामारी न्यून भएपछि चालु आवको शुुरुबाट नै बैंकहरुले आक्रमकरुपमा कर्जा प्रवाह गरेका थिए ।

अहिले बैंकमा निक्षेप समेत घट्दै जाँदा कर्जा प्रवाह निकै न्यून बन्दै गएको छ । बैंकहरुले अन्तर बैंक कारोबार समेत गर्न नसक्ने भएपछि एक साताका लागि अल्पकालीन तरलता पूरा गर्न एसएलएफ लिँदै आएका छन् ।

अहिले बैंकको अन्तर बैंक ब्याजदर अहिले बैंकहरुको अन्तर बैंक ब्याजदर ७ प्रतिशत पुगिसकेको छ ।

राष्ट्र बैंकका अनुसार सोमबारसम्म अन्तर बैंक ब्याजदर ७ प्रतिशत पुगेको छ । अन्तर बैंक कारोबार समेत गर्न नसक्ने भएपछि बैंकहरुले एसएलएफ सुविधा लिएका हुन् ।


क्लिकमान्डु