सांग्रिला डेभलपमेन्ट बैंकले केन्द्रीय कार्यालयमा रहेको शौचालयलाई सार्वजनिक बनाउने



काठमाडौं । काठमाडौं महानगरपालिका कार्यालयसँग समन्वय गरी सांग्रिला डेभलपमेन्ट बैंकले बालुवाटारस्थित आफ्नो केन्द्रिय कार्यालय परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारण नागरिकलाई निःशुल्क प्रयोग गर्न दिने भएको छ ।

महानगर र बैंकबीच भएको सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व जोशी र काठमाण्डौ महानगरपालिकाको मातहतमा रहेको सार्वजनिक निजी साझेदारी एकाईका तर्फबाट नुरनिधि न्यौपानेले हस्ताक्षर गरे ।

यस डेभलपमेन्ट बैंक र महानगरपालिकाबीच भएको सम्झौताअनुसार यस बैंकको केन्द्रीय कार्यालय, बालुवाटार परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारणले प्रयोग गर्न सक्नेछन् ।

काठमाडौं महानगरपालिकाले महानगरभित्र संचालनमा रहेका होटल, रेष्टुरेण्ट, बैंक, व्यवसायिक कम्प्लेक्स, सपिङ्ग मल, गैरसरकारी संस्था तथा अन्य व्यवसायीलाई ऐच्छिकरुपमा आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्न आह्वान गरेको थियो ।

बैंकको यस निर्णयले सर्वसाधारण नागरिकलाई सहजताका साथ शौचालय उपलब्ध गराउने काठमाडौं महानगरपालिकाको प्रयासमा सहयोग पुर्याउने विश्वास बैंकले लिएको छ । केन्द्रीय कार्यालय विहान ९.३० वजे देखि ५ वजेसम्म मात्र खुल्ला रहने भएकाले उक्त समयमा यस कार्यालयको परिसरमा रहेको शौचालय सर्वसाधारणले प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु