निगमले साउनदेखि परल मूल्यमा इन्धन बिक्री गर्ने, पेट्रोलको मूल्य अझै बढ्ने



काठमाडौं । नेपाल आयल निगमले साउनदेखि पेट्रोलियम पदार्थ परल मूल्यमा बिक्री गर्ने भएको छ । जसका कारण उपभोक्ताले अझै महंगो मूल्यमा पेट्रोलियम पदार्थ खरिद गर्नुपर्ने भएको छ ।

यसको अर्थ हो, निगमले हाल पेट्रोलियम पदार्थमा उपलब्ध गराउँदै आएको छुट दिने छैन । अर्थात् निगमको लागत जति पर्छ त्यति नै मूल्यमा उपभोक्तालाई बिक्री गर्नेछ ।

आइतबार राति १२ बजेदेखि लागू हुने पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले सोमबार साँझ ५ बजे पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।

‘अहिले पनि पेट्रोल, डिजल र मट्टितेलमा निगमले घाटा बेहोर्दै उपभोक्तालाई बिक्री गरिरहेको छ, आगामी आवदेखि परल मूल्यमै बिक्री गरिनेछ,’ निगमका कार्यकारी निर्देशक उमेश थानीले भने ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा थानीले अहिले पनि निगम मासिक ४ अर्ब रुपैयाँ घाटामा गइरहेको बताए ।

उनले आइओसीसँग खरिद गरेको मूल्यमा कर थप गरी आउने लागत मूल्यमै इन्धन बिक्री गरिने बताए ।

निगमका अनुसार हाल पेट्रोलिमा प्रतिलिटर १३.५८ रुपैयाँ, डिजलमा १३.९५ रुपैयाँ र ग्याँसमा प्रतिसिलिण्डर ७१५ रुपैयाँ घाटा छ ।

थानीले शुरुदेखि नै परल मूल्यमा बिक्री गर्न पाएको भए यति ठूलो घाटा नहुने बताए ।

उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव गणेश पाण्डेले हाल स्वाचालित मूल्यअनुसार बिक्री गर्दा पेट्रोलको मूल्य १९९ कायम भएको बताए । उनले निगमले आईसीलाई २२ अर्ब दिन बाँकी रहेको भन्दै उक्त रकम भुक्तानी नभएसम्म आइसीसीले तेल दिन्न भन्न थालेको बताए ।

‘सरकारले उपभोक्तालाई कसरी सहज र सुपथ मूल्यमा पेट्रोलियम पदार्थ वितरणा गर्न सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको छ । साथै, ग्यासको खपत कसरी घटाउन सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको छ,’ उनले भने ।


क्लिकमान्डु