आफ्नै इतिहास सम्झाउँदै गोकुल बास्कोटाले अर्थमन्त्रीको राजीनामा मागे



काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बास्कोटाले प्रश्न उठ्ने वित्तिकै राजीनामा दिनुपर्ने भन्दै अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताए ।

बास्कोटाले घूस मागेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए ।

‘म आफै उदाहरण छु, प्रश्न उठेपछि राजीनामा दिएको हुँ,’ उनले भने, ‘प्रश्न उठेपछि अर्थमन्त्रीले पनि राजीनामा दिनुपर्छ ।’

बास्कोटाले अर्थमन्त्री शर्माले शंकर ग्रुप र बिनोद चौधरीलाई फाइदा हुने गरेर बजेटमार्फत् आर्थिक नीतिहरु परिवर्तन गरेको समेत आरोप लगाए ।

‘अर्थमन्त्रीले गम्भीर आर्थिक बिचलन हुने काम गर्नु भएको छ, अर्थमन्त्रीको राजीनामा नआएसम्म उहाँ सहभागी हुने बैठक हामी बहिष्कार गर्ने छौ,’ उनले भने ।

अर्थमन्त्रीले करका दर परिवर्तन गर्दा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा प्रधानमन्त्री नबोलेको भन्दै शंकाको सुई त्यतै तिर फर्केको बताए ।

उनले संसद चलिरहेको बेलामा अर्थमन्त्रीले बाहिर गएर प्रतिपक्ष कहाँ छ भन्दै सोधेको भन्दै भने, ‘उहाँले प्रतिपक्षी देख्नुहुन्छ, चौधरी ग्रुप, प्रभाकर शमशेर राणा, जगदम्बा, अम्बे ग्रुप देख्नुहुन्छ तर जनता, वर्ग र देश देख्नु भएन ।’


क्लिकमान्डु