काठमाडौं महानगरपालिकामा कर तिरेका करदातालाई स्वास्थ्य बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान



काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वास्थ्य बीमाको प्रिमियमा ५० प्रतिशत अनुदान दिने भएको छ ।

महानगरले सम्पत्ति कर तिरेका महानगरवासीलाई सरकारले ल्याएको स्वास्थ्य बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान दिने भएको हो ।

आइतबार काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र शाहले महानगरपालिकामा कर तिरेका करदाताहरूको स्वास्थ्य बीमा गर्न आवश्यक प्रबन्ध मिलाईने बताएका हुन् ।

‘महानगरपालिकामा कर तिरेका करदाताहरूको स्वास्थ्य बीमा गर्न आवश्यक प्रबन्ध मिलाईने छ । बीमाशुल्कको बढीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ’ महानगरले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

स्वास्थ्य बीमा बोर्डले पाँच जनाको परिवारलाई एउटा युनिट मानेको छ । पाँच जनाको परिवारले स्वास्थ्य बीमामा सहभागिता जनाउनको लागि वार्षिक ३५ सय रूपैयाँ प्रिमियम तिर्नुपर्छ ।

महानगरपालिकामा कर तिरेका करदाताहरूले भने सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा सहभागि हुनका लागि १ हजार ७५० रूपैयाँमात्रै प्रिमियम तिरे पुग्ने भएको छ ।


क्लिकमान्डु