आइसक्रिमको प्रतिस्पर्धी फ्रोयो, १ वर्षभित्र देशका मूख्य सहरमा पुग्ने लक्ष्य



काठमाडौं । फ्रोयो (फ्रोजन योगर्ट) नेपालले नयाँ स्वादसहित मुलुकभर सेवा विस्तार गर्ने भएको छ ।
ललितपुरको झम्सिखेलबाट सेवा दिइरहेको फ्रोयोले काठमाडौं उपत्यकाका बालुवाटार, ठमेल लगायतका क्षेत्रमा शाखा खोल्ने तथा देशका सबैजसो मुख्य सहरहरूमा सेवा विस्तार गर्ने भएको हो ।

उपत्यकामा फ्रोयो नेपालले आफैं शाखा खोल्ने तथा उपत्यकाबाहिर भने फ्रेञ्चाइजमार्फत सेवा विस्तार गर्ने योजना रहेको फ्रोयोका सञ्चालक जोशिला भण्डारीले जानकारी दिइन् ।

फ्रोयो नेपालले पोखरा, चितवन, बुटवल र इटहरी लगायतका शहरमा पनि जाने लक्ष्य लिएको सञ्चालक जोशिला भण्डारीले जानकारी दिइन् ।

अहिले फ्रोयो ललितपुरको झम्सिखेलमा मात्रै छ । उपत्यका तथा उपत्यका बाहिरका मूख्य मूख्य शहरबाट पनि माग आएको उनले बताईन् । सोही मागलाई सम्बोधन गर्दै ती शहरमा १ वर्षभित्र पुग्ने योजना फ्रोयोको छ ।

बजारको मागअनुसार फ्रेञ्चाइज मोडलमा जाने तयारी फ्रोयोले गरेको हो ।

फ्रेञ्चाइज मोडलमा जाने सम्झौता गर्ने प्रस्ताव आएपनि चलाउन सक्ने र गुणस्तरीय प्रडक्ट उत्पादन गर्न सक्नेलाई मात्रै दिने उनले बताईन् ।

‘फ्रेञ्चाइजको सम्झौता गर्ने माग त आएको छ । तर, माग अनुसार सबैलाई दिने योजना भने हाम्रो छैन,’ भण्डारीले क्लिकमाण्डूसँग भनिन्,’ ‘चल्ने देखेर गर्छु भन्दै आउने सबैले गुणस्तरीय प्रोडक्ट उत्पादन गर्न सक्छन् भन्ने छैन ।’

हेर्दा आइसक्रिम जस्तो देखिने फ्रोयो दही र दुधको मिश्रणबाट बनेको हो । तुलनात्मक रूपमा आइसक्रिम भन्दा फ्रोयो स्वस्थ्यकर मानिन्छ । पछिल्लो समय फ्रोयोलाई नेपालीले समेत प्रयोग गर्न थालेको भण्डारीको भनाइ छ ।
चिल्लो पदार्थ कम भएको फ्रोयोमा चिनिको मात्रा पनि पनि ज्यादै कम हुन्छ । जसले गर्दा सबै उमेर समूहका व्यक्तिले पनि खान सक्नेछन् ।

फ्रोयोको मूल्य १ कपको १८० रूपैयाँदेखि ९ सय रूपैयाँसम्म पर्छ । ९ सय रूपैयाँ पर्ने १ कप भने परिवारलाई पुग्ने हुन्छ ।

फ्रोयो अमेरिकी ब्राण्ड हो । यो सन् २०११ साल तिर नेपाल भित्रिएको थियो । करिब ११ वर्षअघि भण्डारीका काका दिपक भण्डारीले फ्रोयोलाई नेपाल भित्र्याएका थिए ।

नेपालमा फ्रोयो एक दशकअघि नै भित्रिसके पनि कोभिड महामारीका बेला उपत्यकाका दुईसहित पोखरालगायतका क्षेत्रका आउटलेट बन्द भएका थिए । कोभिड असर कम हुँदै गएको र पर्यटकीय चहलपहल बढ्दै गएका कारण कम्पनीले यसको सेवामा आक्रामक ढंगले विस्तार गर्ने योजना अघि सारेको छ ।

फ्रोयो बनाउनका लागि आवश्यक कच्चा पदार्थ भारतबाट आउँछ । दही र दूध भने डिडिसी कै प्रयोग हुन्छ ।
अहिले फ्रोयो नेपालले १४देखि १५ वटा फ्लेबरको प्रडक्ट उत्पादन गर्छ । दिनमा ४ वटा स्वाद तयार हुन्छ । ती स्वाद पनि हरेक दिन फरक फरक हुन्छन् ।


क्लिकमान्डु