डिजिटल अर्थतन्त्रको विकासका लागि विश्व बैंकले १७ अर्ब २५ करोड सहयोग गर्ने



काठमाडौं । विश्व बैंकले डिजिटल नेपालको विकासका लागि १४० मिलियन डलर अर्थात् १७ अर्ब २५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ ।

उक्त सहयोग ब्रोडब्यान्डको पहुँच र डिजिटल अर्थतन्त्रको विकासमा खर्च हुनेछ ।

‘नेपाल डिजिटल ट्रान्सफर्मेसनको बाटोमा छ, यस्तो अवस्थामा डिजिटल प्रविधिको तीव्रतर तथा समावेशी विकासमा उक्त रकम खर्च हुनेछ,’ मालदिभ्स, नेपाल र श्रीलंका हेर्ने विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद जेर्भोसले भने, ‘नेपालले समावेशी र सुरक्षित डिजिटल अर्थतन्त्रका सन्दर्भमा लिएको लक्ष्य पूरा गर्नका लागि यो सहयोग खर्च गरिनेछ ।

यो प्रोजेक्टले डिजिटल फ्रेम वर्कको कार्यान्वयन र सरकारले सन् २०१९ डिजिटल अर्थतन्त्र सम्बन्धी लिएको रणनीति कार्यान्वयनमा सहयोग हुने अपेक्षा गरिएको छ । प्रोजेक्ट कार्यान्वयनपछि दूरदराजसम्ममा उच्च गुणस्तरयुक्त डिजिटल प्रविधिको पहुँच सुनिश्चित हुनुका साथै व्यक्ति र व्यवसायका लागि समेत फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

साथै, नेपालको डेटा इन्फ्रास्ट्रक्चर, इन्टरनेटको प्रयोग तथा डिजिटल सीप तथा उद्यमशिलतामा समेत सहयोग पुग्नेछ । त्यसैगरी डिजिटल प्रविधिमा महिला, जनजाति, अपांग तथा समानका सिमान्तकृत वर्ग समेत पहुँच पुर्याउन सहयोग हुनेछ ।

प्रोजेक्ट अन्तर्गत १ हजार ५ सय जनाले रोजगारी पाउने विश्व बैंकको भनाइ छ ।


क्लिकमान्डु