विद्युतीय सवारी साधनको अन्तशुल्क र भन्सार महशुल खारेज गर्न नाडाको माग



काठमाडौं । अटोमोबाइल एशोसिएशन अफ नेपाल (नाडा)ले विद्युतीय सवारी साधनको अन्तशुल्क र भन्सार महशुल खारेज गर्न माग गरेको छ ।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत् नाडाले आर्थिक वर्ष २०७९÷८०को बजेटमार्फत विद्युतीय सवारी साधनमा बढाइएको महशुल घटाउन माग गरेको हो ।

सरकारले आगामी आवको बजेटमार्फत विद्युतीय सवारी साधनमा अन्तशुल्क ६० प्रतिशतसम्म पुर्याएको छ ।
साथै, भन्सार शुल्क १५ प्रतिशत विन्दुसम्म बढाएको छ ।

नाडाका अध्यक्ष ध्रुव थापाले लगाएको अन्तशुल्क र भन्सार महशुल तत्काल फिर्ता लिन सरकार समक्ष माग गरे ।

सरकारले विद्युतीय सवारी साधनमा प्राथमिकतामा राखेको भन्दै आएका छन् । तर व्यवहारमा भने नदेखिएको बताए ।

‘सरकारले चालु आर्थिक वर्षको आर्थिक विधेयकमा शून्य अन्तशुल्कको व्यवस्था गरेको थियो। उक्त व्यवस्था गर्दा उच्चरूपमा विद्युतीय सवारी साधन आयात भएको थियो । तर,अहिले सरकारले विद्युतीय सवारी साधन आयातमा कडाइ गर्दा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना आएको छ,’ उनले भने ।

त्यसैगरी, सरकारले विद्युतीय सवारी साधनमा मात्रै नभएर २०० सीसीभन्दामाथिका दुई पाङ्ग्रे सवारी साधनमा पनि अन्तशुल्क बढाएको छ।

जसले गर्दा दुई पाङ्ग्रे सवारी साधनमा आबद्ध व्यवसायीले व्यापारमा बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

विद्युतीय सवारी साधन कमिटीको संयोजक राजनबाबु श्रेष्ठले सरकारले ल्याएको नितीले विद्युतीय सवारी साधनलाई निरूत्साहित गरेको बताए ।

उनले यस क्षेत्रमा ठूलो लगानी गरेको बताउँदै सरकारले न्यायोचित हिसाबले भन्सार शुल्क र अन्तशुल्क कायम गर्नुपर्ने बताए ।

साथै, सरकारले हालै कायम गरेको अन्तशुल्क र भन्सार शुल्क खारेज गर्न माग माग गरे ।

त्यस्तै,दुई पाङ्ग्रे सवारी साधन कमिटीको सभापति अभिक ज्योतीले २०० सीसीभन्दा माथिका सवारी साधनमा अन्तशुल्क र भन्सार शुल्क लगाउँदा आगामी दिनमा व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको बताए ।

उनले २०० सीसीभन्दामाथिका दुई पाङ्ग्रे सवारी साधनमा ९० प्रतिशतसम्म महशुल कायम गरेको बताउँदै यले आगामी दिनमा सवारी साधनको मूल्य महंगो पर्ने र आयात गर्न कठिन हुने दाबी गरे ।


क्लिकमान्डु