अटो बिजनेशमा चौधरी ग्रुपको इन्ट्रीः बुधबार सार्वजनिक गर्दैछ ३८ लाख पर्ने नेटा-भी विद्युतीय कार



काठमाडौं । व्यापारिक घराना चौधरी ग्रुपले अटो क्षेत्रमा पनि हात हालेको छ । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी अध्यक्ष रहेको चौधरी ग्रुप चीनमा बनेके नेटा भी विद्युतीय गाडीसँगै अटोमोवाइल क्षेत्रमा प्रवेश गरेको हो ।

चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले पर्सी (बुधबार ४ बजे) टंगालसिस्थत भाटभाटेनीको अगाडी रहेको शोरुमबाट नेटा भी विद्युतीय गाडीको औपचारिकरुपमा सार्वजनिक गर्दैछ । जसको मूल्य ३८ लाख रुपैयाँ रहेको छ । यो टाटाको नेक्नसभन्दा सस्तो हो । पछिल्लो समय टाटाको नेक्सन इभीले बजारमा राम्रो उपस्थिति जनाएको छ । नेटा भी इभीले तत्काल टाटा नेक्सनको बजार खोस्ने अनुमान गरिएको छ ।

सिजी मोटर स्रोतका अनुसार सार्वजनिक नहुँदै १०० वटाभन्दा बढी बुकिङ भइसकेको छ । हालैमात्र केरुङ नाका हुँदै नेटा भी काठमाडौं भित्रिइसकेको छ ।

यो कार सन् २०१४ मा चीनमा स्थापित होजन अटो न्यू इनर्जी भेइकल कम्पनीले उत्पादन गरेको हो। यो कारको अनुसन्धान र विकास अमेरिकाको सिलिकन भ्याली र क्यालिफोर्नियामा भएको हो भने डिजाइन चीनको राजधानी बेजिङमा भएको हो ।

नेटा भी आकर्षक सीयूभी हो। यो कारको लम्बाइ ४०७० एमएम, चौडाइ १६९० एमएम र उचाइ १५४० एमएमको रहेको छ। कारको ह्वीलवेस २४२० एमएमको रहेको छ भने ग्राउण्ड क्लियरेन्स १६० मिलिमिटर छ।

कम्पनीले यसलाई दुईथरी मोटर र ब्याट्री प्याकमा ल्याएको छ। यसमा सानो ३१.१८ किलोवाट क्षमताको ब्याट्रीसँगै ४० किलोवाटको मोटर रहेको छ। यसले फुल चार्जमा ३०१ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ।

त्यसैगरी यसको लङ रेन्ज मोडलमा ३८.५४ किलोवाट क्षमताको ब्याट्री प्याक र ५५ किलोवाटको मोटर छ। यसले फुल चार्जमा ४०१ किलोमिटर रेन्ज दिने बताइएको छ। यो नेटा भीलाई चार्ज गर्न स्लो अर्थात् (एसी) चार्जरबाट ६ घण्टासम्म लाग्छ भने फास्ट (डीसी) चार्जरबाट चार्ज गर्दा ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुन्छ।

आकर्षक इन्टेरियर रहेको नेटा भीमा विश्वविख्यात टेस्लाको जस्तो भर्टिकल इन्फोटेन्मेन्ट सिस्टम पाउन सकिन्छ। यो कारमा प्रयोग हुने ब्याट्री पनि टेस्लाले प्रयोग गर्ने कम्पनीको हो । नेटा भीमा प्रयोग भएको ब्याटी सीएटीएल नामक कम्पनीले उत्पादन गरेको हो ।

कम्पनीले ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको ब्याट्रीको वारेन्टी दिएको छ। होजन अटो न्यू इनर्जी भेहिकल कम्पनीले विगत ४ वर्षमा लगातार ४ मोडलका इभी उत्पादन गरेको छ ।

नेटा भीको दुबै साइडमा चार्जिङ पोर्ट दिएको छ । एक साइडमा रेगुलर स्लो चार्जिङ र अर्को साइडमा फास्ट चार्जिङ पोर्ट रहेको छ । आकर्षक इन्टेरियर रहेको नेटा भीमा भर्टिकल इन्फोटेन्मेन्ट सिस्टम, स्पीनर रहेको गोलो सेपको साँचो, दुबै साइड फ्ल्याट रहेको स्टेरिङ ह्वील रहेको छ ।

सरकारले इलेक्ट्रीक कारको अन्तःशुल्क र भन्सारमा व्यापक वृद्धि गरेको छ । आर्थिक वर्ष २०७९’८० को बजेट मार्फत अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क र भन्सार दुबै वृद्धि गरेका हुन् । यद्यपि नेटा भीलाई भने सरकारको यो नीतिले कुनै असर पारेको छैन ।

बजेटले १०० किलोवाट क्षमताको मोटर जडान भएको कारमा चलाइएको छैन भने १०० किलोवाट पावर माथि २०० किलोवाटसम्मका गाडीमा ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तःशुल्क लगाइएको छ ।

त्यसैगरी २०१ देखि ३०० किलोवाट क्षमताका मोटर जडान भएको कारमा ४५ प्रतिशत भन्सार र ४५ प्रतिशत नै अन्तःशुल्क तथा ३०० किलोवाट भन्दा माथिको मोटर जडान भएको कारमा ६० प्रतिशत भन्सार र ६० प्रतिशत नै अन्तःशुल्क लगाएको छ ।

नेटा भीमा भएको मोटरको क्षमता १०० किलोवाटभन्दा कमको छ । त्यसैले, अहिले यो कार सस्तो मूल्यमै पाउने छन् ।


क्लिकमान्डु