इम्बोस्ड नम्बर प्लेटमा सरकार ज्यादति देखायो, नागरिकले अवज्ञा गर्छन्ः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगन थापाले इम्बोस्ड नम्बर प्लेट जडानमा सरकारले ज्यादति देखाएको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले सरकार आफूले समयमा काम नगर्ने र नागरिकलाई दण्ड र जरिवानाको डर देखाएर जडान गर्न लगाउने काम गलत भएको बताए ।

‘सरकारले एक महिनाभित्र जडान नगरे दण्ड र जरिवाना लिन्छु भन्दै धम्कीको भाषा प्रयोग गर्न हुँदैन,’ उनले भने, ‘म सरकारसँग माग गर्दछु कि यो तत्काल फिर्ता लिइयोस् ।’

उनले इम्बोस्ड नम्बर प्लेट जडानको काम आवश्यक भए पनि यो धम्कीपूर्णरुपमा आएको बताए । यसले नागरिकलाई एकातिर महंगो र अर्कोतर्फ असहज हुने पनि उनको भनाइ ।

‘छिमेकी मुलुकको तुलनामा ५ गुणा बढी पैसा लिएर, नागरिकलाई दुःख दिएर काम गर्नु हुँदैन,’ उनले भने, ‘बाध्य पारिए नागरिकले अवज्ञा गर्नेछन् ।’

उनले यातायात मन्त्रालयले गत मंसिरदेखि नामाकरण भइसकेका प्रदेशको हकमा ती कार्यालयमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भन्यो तर कार्यान्वयन हुन नसकेको बताए ।

‘सरकारले काम गर्न नसक्ने र कार्यान्वयन हुन सकेन भनेर समीक्षा गर्नुभन्दा यातायात मन्त्रालयले सजिलो तर गलत बाटो समात्दै दण्ड र जरिवानाको प्रस्ताव अघि सारेको छ जुन गलत छ,’ उनले भने ।

सरकारले शुक्रबार यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै गण्डकी र बाग्मती प्रदेशमा दर्ता भएका सवारी साधनहरुमा आगामी असार मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्न भन्दै नगरेसाउन १ गतदेखि दण्ड र जरिवाना गर्ने चेतावनी दिएको छ ।

‘गत मंसिर १ गतेदेखि नामाकरण टुंगिएका प्रदेशमा सम्बन्धित कार्यालयले कामै गर्न सकेन,’ उनले भने, ‘सम्बन्धित कार्यालयले काम नगर्ने अनि नागरिक तर्साउन पाइन्छ ?’

उनले इम्बोस्ड नम्बर प्लेट जडान गर्ने ठेक्का पाएको कम्पनीमाथि पनि प्रश्न उठाएका छन् ।

‘बंगलादेश र अमेरिकाको ज्वाइन्ट भेञ्चर कम्पनीले यसका लागि ठेक्का लिएको छ, ठेक्का पाएको कम्पनी र उसँग भएको सम्झौतामा पनि प्रश्न उठाइएको छ,’ उनले भने, ‘यी प्रश्नहरुको उत्तर दिनुको साटो जनतालाई दुःख दिन पाइन्छ ?’

उनले १६ महिनामा सबै काम नसकाए सरकारलाई आर्थिक दायित्व पर्ने र आफ्नो कमीकमजोरीबाट पन्छिन सरकारले जनतालाई दण्ड र जरिवानाको डर देखाएको बताए ।

‘अबको १५ महिनामा २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्छ । यस हिसाबले दैनिक ५ हजार ५ सयमा जडान गर्नुपर्छ । र, यो कसरी सम्भव छ ?’ उनले प्रश्न गरे ।

उनले इम्बोस्ड नम्बरको गुणस्तरमा पनि प्रश्न उठाए ।

‘इम्बोस्ड नम्बर प्लेट जडान गरेकाहरुको कम गुणस्तर भएको गुनासो छ, कहीँ कतै खाल्डाखुल्डी पर्यो भने नम्बर प्लेट खस्छ,’ उनले भने, ‘यसको गुणस्तरमा ध्यान दिनु पर्दैन ।’

उनले बंगलादेश र इजरायलमा मौलिक भाषामा हुने तर नेपालमा देवनागरी लिपीमा किन भएन भन्दै प्रश्न समेत गरेका छन् ।


क्लिकमान्डु