विद्युतीय सवारी उत्पादनको क्षमता बढाउँदै टीभीएस, ८० अर्ब लगानी जुटाउँदै



एजेन्सी । टीभीएस मोटर कम्पनीले विद्युतीय सवारी साधन उत्पादनका लागि करिब ५ हजार करोड भारु अर्थात् ८० अर्ब रुपैयाँ जुटाउने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार प्राइभेट इक्विटी फर्मबाट विद्युतीय सवारी साधनको उत्पादनका लागि उक्त रकम जुटाउने भएको हो ।

‘टीभीएसले विद्युतीय सवारी साधनको क्षेत्रमा पनि आफ्नो वर्चश्व कायमै राख्नका लागि उक्त लगानी जुटाउन लागेको र उक्त लगानी नेटवर्क बिस्तारमा पनि खर्च गरिने छ,’ कम्पनीसँग सम्बन्धित स्रोतले भन्यो ।

उक्त रकमध्ये ५०० देखि ६५० मिलियन डलर टीभीएस मोटर्सले उठाउने छ । उक्त रकम विद्युतीय सवारी साधनको प्रवर्द्धनका लागि खर्च गरिनेछ ।

यसले टीभीएसको विद्युतीय सवारी साधनको बिक्रीबाट प्राप्त हुने आम्दानी बढ्ने अपेक्षा गरिएको छ । पछिल्लो समय विश्वव्यापीरुपमा बढ्दो विद्युतीय सवारी साधनको मागलाई ध्यानमा राख्दै कम्पनीले उक्त निर्णय गरेको हो ।

भारतीय सरकारले फोसिल फ्युल प्रयोग हुने सवारी साधन कम गर्दै विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिने नीति लिएसँगै टीभीएस मोटर्सले पनि आफ्नो नीतिमा परिवर्तन गरेको हो ।

पछिल्लो समय चार पांग्रे मात्रै नभइ दुई पांग्रे सवारी साधन प्रयोगकर्ताहरु पनि विद्युतीय सवारीतर्फ आकर्षित भइरहेका छन् । विद्युतीय सवारी साधनको प्रयोगले सञ्चालन खर्च कम हुनेछ भने वातावरणीय प्रदुषण पनि कम हुनेछ ।

पछिल्लो समय भारतमा विद्युतीय सवारी साधन उत्पादन गर्ने स्टार्टअप कम्पनीहरुमा पनि ठूलो मात्रामा लगानी भइरहेको छ ।

भारतमा सन् २०२१ मा मात्रै इभी टेक स्टार्टअपहरुमा ४४४ मिलियन डलर लगानी जुटेको थियो । साथै टाटा मोटर्सले पनि ७ हजार ५०० करोड अर्थात् ७५ अर्ब रुपैयाँ गत अक्टोबरमा लगानी जुटाएको थियो ।

त्यसैगरी ओला इलेक्ट्रिकले २५३ मिलियन डलर, ब्लसमार्टले २५ मिलियन डलर, सिम्पल इनर्जीले २१ मिलियन डलर, रिभोल्टले २० मिलियन डलर, डेटेलले २० मिलियन डलर लगानी जुटाएका छन् ।

(लाइभ मिन्टबाट)


क्लिकमान्डु