साउन १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य, जडान नगर्नेलाई कारबाही



काठमाडौं । सरकारले आगामी साउन १ गतेबाट सवारीहरूमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने व्यवस्था गरेको छ ।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै आगामी १ गतेबाट सवारीहरूमा अनिवार्य इम्बोस्ड प्लेट जडान गर्नुपर्ने जनाएको हो ।

विभागले बाग्मति र गण्डकी प्रदेशका उल्लेखित कार्यालयहरूमा दर्ता भएका सवारीहरुमा इबोस्ड नम्बर प्लेटसम्बन्धी व्यवस्था कार्यान्वयन नभएमा ट्राफिक प्रहरीबाट सडक अनुगमन गरिने जनाएको छ ।

साथै, तोकिएअनुसार इम्बोस्ड प्लेट जडान नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही हुने विभागको भनाइ छ ।

सरकारले यसअघि नै राजपत्रमा सूचना प्रकाशन गरिएको र विभागबाट बागमति प्रदेशको एकान्तकुना–ललितपुर र गुर्जुधारा–काठमाडौं र गण्डकी प्रदेशको पोखरा–कास्कीमा रहेका यातायात व्यवस्था कार्यालयहरूमा आवश्यक पूर्वाधारसमेत तयार गरिसकेको छ ।

ती कार्यालयहरूमा दर्ता भएका सवारीहरूमा हालसम्म पनि इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धी संघीय कानून बमोजिमको व्यवस्ता तथा निर्णय कार्यान्वयन नभएको पाइएकोले विभागले कारबाहीमा ल्याउने भएको हो ।

‘ऐन तथा नियममा भएको व्यवस्था बमोजिम सवारीहरूमा अबिलम्ब इम्बोस्डप्लेट जडान गर्न गराउन हुन बागमति प्रदेशअन्तर्गत यातायात कार्यालय (साना ठूलो सवारी), एकान्तकुना, ललितपुर र यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधारा, काठमाडौं र गण्डकी प्रदेशअन्तर्गत यातायात कार्यालय (सवारी) पोखरा, कास्की र ती कार्यालयमा दर्ता भएका सबै सवारीहरूका सवारीसाधनलाई सूचनामार्फत् जानकारी गराइएको छ,’ सूचनामा उल्लेख छ ।


क्लिकमान्डु