राष्ट्र बैंकका कर्मचारीको सुविधा बढाउने गभर्नर अधिकारीको घोषणा



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको विनियमावली बनाउँदा कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासलाई ध्यान दिइने बताएका छन् ।

बिहीवार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै गभर्नर अधिकारीले राष्ट्र बैंकले बनाउने विनियमावलीमा कर्मचारीहरुको सेवा, सुविधा र वृत्ति विकासमा ध्यान दिइने बताए ।

उनले विगतमा भएको व्यवस्थामा घटेर नआउने बरु अझ राम्रो भएर आउने जानकारी दिए ।

‘केही विनियम सँग सम्बन्धित कुराहरु बाँकी छन् । जसको लागि सबै युनियनहरुको फिडब्याकसहित विनियमको ड्राफ्ट बनिसकेको छ र हामी सञ्चालक समितिमा छलफलको प्रक्रियामा छौँ । त्यहाँ भित्र पक्कैपनि वृत्ति विकास लगायतका कुराहरु र केही करेक्शनका कुराहरु, अनुभवको आधारमा गर्नुपर्ने करेक्शन छन् । धेरै ठूलो संशोधन पनि छैन,’उनले भने ।

राष्ट्र बैंकमा सुशासन कायम गर्न वर्तमान व्यवस्थापन दत्तचित्त भएर लागेको बताए ।

बैंकका कर्मचारीहरुले गलत काम नगरेको भन्दै उनले कसैले गलत काम गरेको पाएमा प्रमाणसहित जानकारी दिन आग्रह गरे ।


क्लिकमान्डु