कस्मेटिक्स वस्तुमा १०%ले अन्तःशुल्क बढ्यो, मूल्य बढ्ने



काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० बजेटमार्फत् कस्मेटिक्स वस्तुको आयातमा १० प्रतिशत अन्तशुल्क बढाएको छ ।

सरकारले आयातलाई कडाइ गर्दै कस्मेटिक्स वस्तुको आयातमा ५ प्रतिशत रहेको अन्तशुल्क १५ प्रतिशत पुर्याएको छ ।

सरकारले आगामी आर्थिक वर्षको विद्येयकमा लिपस्टिक, आइ मेकअपका वस्तु, नङपोलिस, पाउडर, अनुहारमा लगाउने क्रिम, शरिरमा लगाउने लोसन, छालाको सुरक्षाका लागि प्रयोग गरिने खुद्रा बिक्री प्याकमा रहेको पेट्रोलियम जेली र स्याम्पुमा १० प्रतिशत अन्तशुल्क बढाएको हो । अहिले सो वस्तुहरूको अन्तशुल्क ५ प्रतिशत रहेको छ ।

त्यसैगरी, सरकारले कपालमा लगाउने तेल, रङ, क्रिम, कन्डिसनरजस्ता वस्तुको आयातमा ५ प्रतिशत अन्तशुल्क बढाएर १० प्रतिशत बनाएको छ । कस्मेटिक्स वस्तुको आयातमा अन्तशुल्क बढेसँगै मूल्य बढ्ने भएको छ ।

सरकारले उच्च आयातका कारण विदेशी सञ्चिति घट्दै गएको र तरलता अभाव भएको भन्दै कस्मेटिक्स वस्तुको आयातमा प्रतिपत्र (एलसी) खोल्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले उक्त वस्तुको आयातमा शतप्रतिशत मार्जिनको व्यवस्थाले आयातमा निकै प्रभावित बनाएको छ ।

अहिले बजारमा एलसीका कारण पर्याप्त मात्रामा कस्मेटिक्स वस्तु आउन नसकेको र मूल्य महंगिएको कस्मेटिक्स व्यवसायीहरू बताउँछन् । एलसीका कारणले नै अधिकांश वस्तुको मूल्य निकै आकासिएको कस्मेटिक्स वस्तुको मूल्य आगामी दिनमा झनै बढ्ने देखिएको सौन्दर्यकला व्यवसायी संघ नेपालका महासचिव प्रतिज्ञा राणा बताउँछिन् ।

उनकाअनुसार अहिले एलसी गर्दा नै १० प्रतिशतले मूल्यवृद्धि भएको छ । झन आगामी वर्षदेखि १० प्रशिशत अन्तशुल्क बढाएर १५ प्रतिशत बढाएको छ । यसले आम नेपाली महिलाहरूको खर्च बढाएको छ ।

‘महिलाहरूले प्रयोग गर्ने अधिकांश कस्मेटिक्स विदेशबाट आयात हुने गर्छ । जसमा मूल्यमा एकरुपमा छैन,’ उनले क्लिकमाण्डूसँग भने, ‘आगामी वर्षदेखि लागू हुने अन्तशुल्कले झनै मूल्यवृद्धि भई ढाड नै भाँच्ने अवस्थामा पुर्याएको छ ।’

त्यसैगरी, कस्मेटिक्स मात्रै नभएर महिलासहित सम्पूर्ण व्यक्तिहरूले प्रयोग गर्ने स्याम्पुमा समेत अन्तशुल्क बढाएको छ । जसले गर्दा आगामी दिनमा अधिकांश वस्तुको मूल्य अत्यधिक बढ्ने देखिन्छ ।

नेपालले चालु आर्थिक वर्षको १० महिनामा मात्रै ७ अर्ब ४५ करोड ५९ लाख ७६ हजार रुपैयाँ बराबरको कस्मेटिक्स वस्तु आयात गरेको छ । उक्त आयातित वस्तुबाट नेपाल सरकारले २ अर्ब ९५ करोड १८ लाख ८६ हजार रुपैयाँ भन्सार महशुल संकलन गरेको छ ।

नेपालले १० महिना मात्रै २९ करोड २१ लाख रुपैयाँको लिपस्टिक, २० करोड ४६ लाख रुपैयाँको आइ मेकअप, ५९ करोड ५४ लाख रुपैयाँको फेस क्रिम, ४ करोड ८१ लाख रुपैयाँको नेलपोलिस, ४० करोड ५८ लाख रुपैयाँको बडी लोसन, २ अर्ब ५० करोड ३२ रुपैयाँको अन्य सौन्दय वस्तु, १ अर्ब ८६ लाख रुपैयाँको स्याम्पु, ४४ करोड ६९ लाखको कपालमा लगाउने रङ, ४४ करोड ६९ लाख रुपैयाँको कपालमा लगाउने तेल, १३ करोड २८ लाखको कन्डिसनर र ५६ करोड ५७ लाख रुपैयाँको कपालमा प्रयोग हुने अन्य वस्तु आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

नेपाली व्यवसायीहरूले उच्च रुपमा कस्मेटिक्स वस्तु आयात गरी बिक्री वितरण गर्दै आएका छन् । आयातित कस्मेटिक्समा पनि अधिकांश नक्कली आउने गरेको राणाको भनाइ छ ।

‘बजारमा नक्कली वस्तुको बिगबिगी छ । जसले गर्दा मूल्यमा एकरुपता छैन,’ उनले भनिन्, ‘आगामी दिनमा झनै सोही नक्कली वस्तुको मूल्य पनि ह्वात्तै बढ्नेछ ।’

आयातित वस्तु नक्कली र मूल्य पनि निकै महंगी भएकाले आगामी दिनमा सौन्दर्य वस्तु नेपालमै उत्पादन गर्नुपर्ने उनको भनाइ छ । हाल नेपालमै पनि आयातित कस्मेटिक्सभन्दा आयुर्वेदिक कस्मेटिक्स उच्च रुपमा उत्पादन भइरहेको छ । त्यसैले, नेपाली महिलाहरूले स्वदेशकै वस्तुको प्रयोग बढाउनुपर्ने उनको सुझाव छ ।

‘नेपालमै स्वदेशी जडीबुटीबाट बनेको उत्कृष्ट कस्मेटिक्स उपलब्ध छन् । तर, स्वदेशमा उत्पादित वस्तु भन्ने वित्तिकै नेपालीहरू प्रयोग गर्न मान्दैनन्,’ उनले भनिन्, ‘आगामी दिनमा स्वदेशकै उत्पादनको प्रयोगमा बढावा दिनुपर्छ ।’


क्लिकमान्डु