ढुवानी सवारी र सार्वजनिक सवारीको भाडा बढाउने तयारी


काठमाडौं । यातायात व्यवस्था विभागले ढुवानी सवारी र सार्वजनिक सवारीको भाडादर बृद्धि गर्ने तयारी गरेको छ ।

पछिल्लो समयमा पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्यबृद्धि र सवारी साधनको पार्टपुर्जाको बढ्दो लागतका कारण विभागले देशभर सञ्चालन हुने सार्वजनिक सवारी साधनको नयाँ भाडादर कायम गर्न गृहकार्य अघि बढाएको हो ।

पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ हुँदा स्वचालित प्रणाली अनुसार भाडादर समायोजन गर्नुपर्ने कानुनी व्यवस्थालाई आधार मान्दै विभागले भाडा वृद्धिको प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको हो ।

नेपाल आयल निगमले पछिल्लो पटक इन्धनको मूल्य बढाएसँगै यातायात व्यवसायीहरूले भाडा बढाउन दबाब दिँदै आएका थिए ।

विभागले तयार पारेको प्रस्तावमा इन्धनको मूल्यलाई मात्र नभई वार्षिक रूपमा सवारी साधनमा लाग्ने खर्चहरू जस्तै टायर, लुब्रिकेन्ट्स, कर, बीमा र अन्य पार्टपुर्जाहरूमा भएको मूल्य वृद्धिलाई समेत अध्ययन गरिएको छ ।

वैज्ञानिक भाडादर निर्धारण गर्दा इन्धनको हिस्सा ३५ प्रतिशत र अन्य प्रशासनिक तथा प्राविधिक खर्चको हिस्सा ६५ प्रतिशत मान्ने गरिएको छ, जसका आधारमा नयाँ भाडादर तय गरिन्छ ।

विगत लामो समयदेखि पार्टपुर्जाको मूल्यमा उच्च वृद्धि भए पनि सोही अनुसारको समायोजन नभएको गुनासो व्यवसायीहरूको रहँदै आएको छ । इन्धनको मूल्य ५ प्रतिशतभन्दा बढीको अन्तरले बढेपछि प्राविधिक रूपमा भाडा समायोजन गर्नु विभागको नियमित प्रक्रिया अन्तर्गत नै पर्दछ ।

यातायात व्यवस्था विभागले मन्त्रालयमा पठाएको उक्त प्रस्ताव हाल छलफलको क्रममा रहेको छ ।

मन्त्रालयले प्रस्तावको अध्ययन गरी स्वीकृति प्रदान गरे लगत्तै विभागले नयाँ भाडादर सार्वजनिक गर्नेछ । मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि लामो दूरीका सवारी साधनसँगै छोटो दूरीका शहरी यातायात र ढुवानीका सवारी साधनको समेत भाडा वृद्धि हुने देखिएको छ ।