काठमाडौंमा ‘सीएनआइवाइइएफ नेपाल स्टार्टअप फेष्ट’ हुँदै, स्टार्टअपले लगानी प्रस्ताव गर्न सक्ने




काठमाडौं । नेपालमा नवप्रवर्तन व्यवसाय (स्टार्टअप)को प्रवद्र्धन गर्न नेपाली युवा उद्यमी फोरम (सीएनआइवाइइएफ)ले ‘सीएनआइवाइइएफ नेपाल स्टार्टअप फेष्ट’ आयोजना गर्ने भएको छ । असार ११ गते काठमाडौंको सोल्टी होटलमा उक्त मेला हुँदैछ ।

आयोजकले उक्त मेलामा स्वदेशी र विदेशी उद्यमी, लगानीकर्ता, विद्यार्थी, बुद्धिजिवी, पत्रकार गरेर ३ हजारको सहभागी हुने बताएको छ ।

नेपालामा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगमा स्थापित गर्ने उद्देश्यले यस कार्यक्रम आयोजना गर्न लागिएको सीएनआईवाइइएफका अध्यक्ष अमुन थापाले जानकारी दिए ।

स्टार्टअपलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको भन्दै त्यसको कार्यान्वयनका लागि समितिले सरकारसँग सहकार्यमा काम गर्ने पनि उनले बताए । उनले व्यवसायका स्वरुपहरु परिवर्तन भइरहेको र नयाँ क्षेत्रहरुमा काम गर्ने संभावना रहेको उल्लेख गरे ।

आयोजना गर्न लागिएको उक्त कार्यक्रममा स्टार्टअपले आफ्नो लगानीको लागि प्रस्ताव पनि पेश गर्न सक्ने छन् । आफ्नो अफिसियल वेवसाइटबाट उक्त प्रस्ताव राख्न सक्ने आयोजकले जनाएको छ । त्यस्तै प्रस्ताव राख्नको लागि आयोजकले जेठ २७ गतेसम्मको समय दिएको छ ।

सीएनआईवाइइएफका निवर्तमान अध्यक्ष चाङ अग्रवालले यस्तो कार्यक्रम नेपालमै पहिलो पटक हुने लागेको भन्दै ४० लाख डलर बराबरको लगानीका लागि आसयपत्रमा हस्ताक्षर भइसकेको बताए । उनका अनुसार टिम भेन्चर, ग्लोबल इक्विटी फन्ड, आध्यन्ता फन्ड म्यानेजमेन्ट, हिमालयन क्यापिटल र टेलिभेन्चर पार्टरले संयुक्तरुपमा करिब ५० करोडको आसय दिइसकेको बताए । होटल हिमालयमा बैशाख २० गते भएको एक समारोहमा उक्त संस्थाहरुसँग आसयपत्रमा हस्ताक्षर भएको पनि उनले बताए ।

साथै, सोही समारोहमा नेपाल प्राइभेट इक्विटी एशोसियसन, इम्प्याक्ट हब, रोबोटिक्स एसोसियसन नेपाल (रान) र अन्तरप्रेरणासँग पनि सहकार्य गर्न सम्झौता भएको छ ।

यस मेलामा विभिन्न विधाका ७६ ओटा स्टार्टअपहरुलाई सम्मान गर्ने कार्यक्रम छ । ५० भन्दा धेरै स्टार्टअपले आफ्नो बस्तु तथा सेवाको प्रदर्शनी गर्नेछन् । एकदिने उक्त मेलामा प्लानल डिसकसन, इन्भेष्टर डेटिङ, रोबोटिक फुटबल, म्युजिकल कन्सर्ट जस्ता कार्यक्रम हुनेछन् ।


क्लिकमान्डु