कृषि, बाली तथा पशु बीमाको प्रिमियममा ८०% अनुदान, ७६ करोड बजेट विनियोजन



काठमाडौं । सरकारले कृषि, बाली तथा पशु बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान दिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामि आर्थिक वर्ष २०७९/८० का लागि कृषि , बाली तथा पशु बीमा गर्दा लाग्ने प्रिमियममा ८० प्रतिशत अनुदान दिने बताए ।

जसका लागि सरकारले ७६ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले चालु आवमा कृषि तथा पशुपन्छी बीमाशुल्कमा दिईदै आएको ७५ प्रतिशत अनुदान दिने व्यवस्थालाई परिमार्जन गर्दै ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको थियो ।

कृषि तथा पशुजन्य व्यवसायमा रहेको जोखिम न्यूनीकरण गरी यस क्षेत्रमा किसानहरूको आकर्षण वृद्धि गर्न कृषि, बाली तथा पशु बीमाको दायरा विस्तार गर्न भन्दै वर्षेनी अनुदानको व्यवस्था गर्दै आएको छ ।

बाली तथा पशुपालन व्यवसायका जोखिम तथा अनिश्चितता कम गरी कृषकलाई कृषि व्यवसायतर्फ उन्मुख गर्न र कृषि क्षेत्रमा निजी, सरकारी तथा वित्तीय संस्थाहरूको लगानी बढाउन र लगानी सुरक्षित गर्न भन्दै बीमा कार्यक्रम सुरू गरिएको थियो । हाल कृषिबीमाअन्तर्गत २८ वटाभन्दा बढी बीमा योजना छन् ।

हाल पशुपक्षी बीमातर्फ बाख्रा, माछा, कुखरालगायत पशुपञ्क्षीको बीमा गर्न सकिन्छ । यस्तै, बाली बीमातर्फ धान, अदुवा, सुन्तला, बेसार, च्याउलगायत बालीको बीमा गर्न सकिन्छ ।

सरकारले २०६९ सालदेखि कृषि बीमा कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । आर्थिक वर्ष २०७१÷०७२ देखि कृषि बीमा अन्तर्गत पशुपन्छी बीमालाई पनि समावेश गरिएको छ ।


क्लिकमान्डु