बीमा कम्पनीलाई नयाँ कर्मचारी भर्ना गर्न समितिले रोक लगायो



काठमाडौं । मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेका बीमा कम्पनीहरूले नयाँ कर्मचारी भर्ना गर्न नपाउने भएका छन् । पुँजी वृद्धिको नीति ल्याएर मर्जर तथा प्राप्तिका लागि दबाब सिर्जना गरेको समितिले बीमा कम्पनीहरुलाई नयाँ कर्मचारी भर्ना गर्न रोक लगाएको हो ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार समितिले मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेका कम्पनीहरूलाई नयाँ कर्मचारी भर्नामा रोक लगाइएको हो ।

मर्जर तथा प्राप्तिको बाटो रोजेका कम्पनीहरूलाई तत्कालै नयाँ कर्मचारी भर्ना नगर्न आग्रह गरेको उनले बताए ।

उनका अनुसार यी बाहेका अन्य कम्पनीहरूलाई समेत नयाँ कर्मचारी भर्ना र शाखा कार्यालय बिस्तार नगर्न भनिएको छ । तर, ती कम्पनीहरूलाई भने औपचारिक रूपमा निर्देशन दिन बाँकी छ ।

बीमा समितिले गत चैत महिनामा बीमा कम्पनीहरूको चुक्ता पुँजी बढाउने निर्णय गरेको थियो । समितिले जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी ५ अर्ब रूपैयाँ र निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी साढे २ अर्ब रूपैयाँ पुर्याउने निर्णय गरेको थियो ।

सोही बमोजिम बीमा कम्पनीहरूले २०७९ चैत मसान्तसम्ममा पुँजी पुर्याउनु पर्नेछ ।

समितिले तोकेको पुँजी पुर्याउन कम्पनीहरूले मर्जर तथा प्राप्ति, हकप्रद सेयर र बोनस सेयर जारी गर्ने योजना बनाएका छन् ।

एक वर्षभित्रमा नै पुँजी वृद्धि गर्नुपर्ने समितिको निर्देशनबमोजिम अहिले बीमा कम्पनीहरूमा मर्जरको लहर चलेको छ ।

हालसम्म ५ बीमा कम्पनीले पुँजी वृद्धिका लागि मर्जरको बाटो रोजेका छन् । ३ जीवन बीमा कम्पनीले मर्जरका जाने सहमति गरी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । साथै, २० निर्जीवन बीमा कम्पनीमध्ये २ वटाले मर्जरसम्बन्धी सहमति गरेका छन् ।

कम्पनीहरूले एक आपसमा गरेका मर्जरसम्बन्धि सम्झौतालाई बीमा समितिले सैद्दान्तिक सहमति समेत दिइसकेको छ ।

निर्जीवन बीमा कम्पनीहरूतर्फ हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले मर्जरको सम्झौता गरिसकेका हुन् । जीवन बीमातर्फ भने प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स एक आपसमा मर्जरको सम्झौता गरिसकेका हुन् ।

यी कम्पनीहरूलाई समितिले औपचारिकरूपमै पत्रचार गरी कर्मचारी भर्नामा रोक लगाएको पौडेलले बताए ।

मर्जर तथा प्राप्तिमा रहेका कम्पनीहरूले अहिले नयाँ कर्मचारी भर्ना गर्दा खर्ब बढी हुने हुनाले सहजिकरणका लागि यस्तो निर्देशन दिइएको पौडेलको भनाइ छ ।

‘मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेका कम्पनीहरूलाई नयाँ कर्मचारी भर्ना नगर्न भनेका छौं,’ कार्यकारी निर्देशक पौडेलले क्लिकमाण्डूसँग भने, ‘मर्जर तथा प्राप्तिमा जाने कम्पनीहरूले नयाँ कर्मचारी थप्दा खर्च बढी हुन्छ । यी कम्पनीहरूलाई कर्मचारी भर्ना नगर्न आग्रह गरिएको हो ।’

उनले पुँजी नपुर्याउने कम्पनीहरूका लागि पनि यही नियम लागू हुने बताए । तर, पुँजी पुगिसकेको कम्पनीमा भने यो नियम लागू नहुने उनको भनाइ छ ।

सञ्चालनमा रहेका बीमा कम्पनीहरूमध्ये हाल नेपाल लाइफको भने समितिले तोके बमोजिमको पुँजी पुगिसकेको छ ।

नेपाल लाइफले भने नयाँ कर्मचारी र नयाँ शाखा कार्यालय विस्तार गर्न पाउने छ । पुँजी पुर्याएका कम्पनीहरूलाई शाखा विस्तार र नयाँ कर्मचारी भर्नामा रोक नलगाइने समितिले बताएको छ ।

‘पुँजी पुर्याएका कम्पनीहरूलाई नयाँ कर्मचारी भर्ना तथा नयाँ शाखा कार्यालय विस्तार गर्नमा रोक छैन,’ उनले भने, ‘आवश्यकता अनुसार पुँजी पुर्याउने कम्पनीलाई नयाँ कर्मचारी भर्ना गर्न र शाखा थप गर्न अनुमति दिइने छ ।’


क्लिकमान्डु