बीमा सर्भेयरको तालिम सञ्चालन गर्दै समिति



काठमाडौं । बीमा समितिले सर्भेयरको तालिम सञ्चालन गर्ने भएको छ । समितिले जेठ ३० गतेदेखि असार ३ गतेसम्म काठमाडौंमा तालिम सञ्चालन गर्ने भएको हो ।

समितिले गत भदौ ३ गते बीमा सर्भेयरको तालिम सञ्चालन गर्ने निर्णय गरी सोही महिनाको ८ गते सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो ।

समितिले गत भदौं ८ गतेदेखि भदौ १४ गतेसम्म अनलाइनमार्फत निवेदन दिएका तर तालिममा सहभागि नभएका निवेदकहरूलाई पुनः तालिम दिन लागको हो ।

उक्त तालिममा सहभागी हुनका लागि पैसा तिरिसकेका तर तालिममा सहभागी नभएकाहरूलाई पुनः तालिम दिन लागिएको समितिको भनाइ छ । ।

उक्त समयमा तालिममा सहभागी हुन नसकेका निवेदकले समितिको कार्यालयमा निवेदन दिने वा समितिको इमेलमा रकम बुझाएको प्रमाणसहित २०७९ जेठ १८ गतेसम्ममा निवेदन दिइ २०७९ जेठ ३० गतेदेखि असार ३ गतेसम्म हुने बीमा सर्भेयरको तालिममा सहभागी हुन सकिने समितिले बताएको छ ।

बीमा गरिएको सम्पत्तिको क्षति भएमा सम्बन्धित बीमा कम्पनीले बीमितिलाई क्षतिपूर्ति प्रदान गर्नुपर्दछ । उक्त क्षतिको मूल्यांकन गर्न सक्ने व्यक्ति तथा संस्था सर्भेयर हो । सर्भेयरले पेश गरेको प्रतिवेदनको आधारमा बीमा कम्पनीहरूले बीमितलाई दाबी वापतको रकम भुक्तानी गर्दछ ।

बीमा सर्भेयर बन्नको लागि चार्टर्ड एकाउन्टेन्ट, इन्जिनियर, बीमा कम्पनीका अधिकृत स्तरमा कम्तीमा दश वर्ष भन्दा बढी काम गरेको वा बीमा सम्बन्धी विशेष अध्ययन गरेको हुनुपर्दछ । त्यस्ता व्यक्तिले मात्रै बीमा समीतिले सञ्चालन गर्ने सर्भेयरको तालिम लिएर लाइसेन्स लिन सकिन्छ ।


क्लिकमान्डु