निर्जीवन बीमा कम्पनीको लगानी ५२ अर्बमाथि, के मा कति ?



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले ५२ अर्ब रूपैयाँभन्दा धेरै लगानी गरेका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा समितिले तोकिदिएका विभिन्न क्षेत्रमा कम्पनीहरूले ५२ अर्ब ७९ करोड ४० लाख ९३ हजार रूपैयाँ लगानी गरेका हुन् ।

बीमा समितिको तथ्यांक अनुसार २० निर्जीवन बीमा कम्पनीहरूले सो बराबरको लगानी गरेका हुन् ।

कुल लगानीको ८२.७६ प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा केन्द्रित हुँदा घर जग्गा र नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा कम्पनीहरूको लगानी शून्य देखिएको छ ।

चालु आवको दोस्रो त्रैमासको अवधिमा राष्ट्रिय बीमा कम्पनीबाहेकका १९ कम्पनीहरूले ५२ अर्ब २५ करोड २ लाख रूपैयाँ लगानी गरेका थिए ।

२० निर्जीवन बीमा कम्पनीहरूले कुल लगानीको ८२.७६ प्रतिशत अर्थात ४३ अर्ब ६९ करोड २९ लाख रूपैयाँ लगानी नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र पाएका बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरेका छन् ।

कम्पनीहरूले यस अवधिमा क वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ३७ अर्ब ४२ करोड ७९ लाख रूपैयाँ घ बर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ५ अर्ब ३६ करोड ८६ लाख रूपैयाँ र ग बर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ८९ करोड ६३ लाख रूपैयाँ गरी सो बराबरको लगानी गरेका हुन् ।

सूचीकृत पब्लिक कम्पनीको शाधारण सेयरमा निर्जीवन बीमा कम्पनीहरूले १ अर्ब ६६ करोड ७ लाख रूपैयाँ लगानी गरेका छन् । यो निर्जीवन बीमा कम्पनीहरुको कुल लगानीको ३.१५ प्रतिशत हो ।

सूचिकृत पब्लिक कम्पनीको डिबेन्चरमा १ अर्ब २१ करोड ७९ लाख रूपैयाँ, क, ख, ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्र १ अर्ब ५८ करोड २९ लाख रूपैयाँ, कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा २४ करोड ३ लाख रूपैयाँ लगानी गरेका छन् ।

यस्तै, कम्पनीहरूले नेपाल सरकारको बचतपत्रमा २८ करोड ८८ लाख रूपैयाँ र म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ४० करोड ७लाख रूपैयाँ लगानी गरेका छन् ।

यस्तैगरी निर्जीवन बीमा कम्पनीहरुले अन्य लगानी अन्र्तगत ३ अर्ब ७० करोड ९६ लाख रूपैयाँ लगानी गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरुले यस अवधिमा घरजग्गा र नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा लगानी गरेका छैनन् ।

समितिद्धारा जारी बीमकको लगानी निर्देशिका, २०७५ बमोजिम निर्जीवन बीमा कम्पनीहरुले घर जग्गामा न्यूनतम ५ प्रतिशत र नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशतसम्म लगानी गर्न पाउनेछन् ।

कम्पनीहरूले क वर्गको बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, घर जग्गामा बढिमा ५ प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बढीमा १० प्रतिशत, क, ख र ग बर्गको बैंक तथा वित्तीय संस्थाको सेयर र ऋणपत्रमा बढिमा २० प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेञ्चरमा बढिमा २० प्रतिशत लगानी गर्नसक्ने व्यवस्था छ ।

त्यसैगरी, कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधारमा बढिमा २० प्रतिशत, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा बढिमा ५ प्रतिशत, ख बर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढिमा २० प्रतिशत र ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढिमा १० प्रतिशत लगानी गर्न सक्ने व्यवस्था छ ।

बीमा कम्पनीहरूमा लगानीयोग्य रकम थुप्रिँदै गएपछि लगानीका क्षेत्रहरू पनि विस्तार गर्नुपर्ने कम्पनीहरूले माग गर्दै आएका थिए ।

सोहीबमोजिम बीमा समितिले लगानी निर्देशिका जारी गरेको थियो । समितिले जीवन, निर्जीवन तथा पुनर्बीमा कम्पनीहरूले लगानी गर्ने क्षेत्रहरू तोकिदिएको थियो । निर्देशिकाले कम्पनीहरूको गणनायोग्य सम्पत्तिमा सीमा तोकी लगानीको क्षेत्र र दायरा तोकिदिएको हो ।


बिजया बास्कोटा