२ दिन सार्वजनिक विदा दिनु गलत, जोर-बिजोर लागू गरौंः विनोद चौधरी



काठमाडौ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले २ दिन सार्वजनिक विदा दिनु गलत भएको बताएका छन् ।

मंगलबार अर्थसमितिको छलफलमा बोल्दै उनले २ दिन सार्वजनिक विदा दिनुको साटो सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्न सुझाव दिए ।

‘एक वर्षमा १६५ दिनसम्म विदा हुने अवस्था आयो,’ उनले भने, ‘त्यसैले सातामा २ दिन विदा दिने निर्णय खारेज गरौं ।’

उनले अहिले पुँजीबजारमा साना लगानीकर्ता फसेको समेत बताए ।

उनले पुँजीबजार अर्थतन्त्रको ऐना समेत भएको भन्दै ऐन कानूनमा भएका व्यवस्थाका कारण आइपीओको चरणमा रहेका कम्पनीको प्रक्रिया नटुंगिएको समेत बताए ।

उनले बैंंकिङ प्रणालीमा तरलता बढाउन समेत सुझाव दिए ।

‘सरकारले पुँजीगत खर्च नगर्ने र राष्ट्र बैकले ५०० अर्ब रुपैयाँ होल्ड गरेर राख्दा समस्या भएको छ,’ उनले भने ।

नेपालमा बजेट अभाव हुनु भन्दा पनि अनुत्पादक बजेट बढदा समस्या भएको तर्क गरे । चालु बजेट बढने पुँजीगत बजेट घट्दै जाने प्रवृत्ति रोक्नुपर्ने उनको सुझाव छ ।

उनले चालु आर्थिक वर्षमा ४३ अर्ब रुपैयाँ विदेशिएको भन्दै यसलाई रोक्नुपर्ने बताए ।

उनले शिक्षा मन्त्रालयको नीति प्रभावकारी नभएको भन्दै शिक्षाको नाममा बढी पैसा विदेश गएको बताए ।

नेपाली विद्यार्थी विदेश पठाउने भन्दा पनि विदेशबाट विद्यार्थी ल्याउने नीति बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।

उनले सरकारकाले बनाएको औद्योगिक ग्राम बनाए पनि त्यस स्थानमा उद्योगहरु नै नपुगेको बताए । उनले उद्योगीहरुलाई राम्रो इन्सेन्टिभ नहुँदा उद्योग नगएको बताए ।


क्लिकमान्डु