नौ महिनामा जीवन बीमा कम्पनीका कर्मचारीलाई २५ करोड ७४ लाख बोनस, कुनको कति ?



काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनासम्मको मुनाफाबाट जीवन बीमा कम्पनीहरूले आफ्ना कर्मचारीलाई २५ करोड रूपैयाँभन्दा धेरै बोनस छुट्याएका छन् ।

कम्पनीहरूले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले बोनस ऐन अनुसार २५ करोड ७४ लाख ६२ हजार रूपैयाँ बोनस छुट्याएका हुन् ।

जुन गत आवको यसै अवधिको तुलनामा २८.३६ प्रतिशतले थोरै हो । गत आवको चैत मसान्तसम्ममा यी कम्पनीहरूले कर्मचारी बोनस व्यवस्था शीर्षकमा ३५ करोड ९३ लाख ९२ हजार रूपैयाँ रकम छुट्याएका थिए ।

बीमा कम्पनीहरूले आर्थिक वर्ष सकिएपछि साधारणसभा सम्पन्न गरि कर्मचारीलाई छुट्याएको बोनस वितरण गर्ने गर्छन् । तर, कम्पनीहरूले त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दा नै कर्मचारीलाई पनि खुद नाफाको १० प्रतिशत बढी बोनस छुट्याएर प्रकाशन गर्छन् ।

बोनस ऐन २०३० मा कुनै पनि प्रतिष्ठानले कर्मचारीलाई वितरण गर्नुपर्ने बोनसको प्रतिशत खुद मुनाफाको १० प्रतिशत हुनुपर्ने उल्लेख छ । सोहीअनुसार कम्पनीहरूले रकम छुट्याएका हुन् ।

तथ्यांक अनुसार चालु आवको तेस्रो त्रैमासको अवधिमा ७ वटा जीवन बीमा कम्पनीको कर्मचारी बोनस घटेको छ । ७ जीवन बीमा कम्पनीको कर्मचारी बोनस घट्दा कर्मचारीहरूले पाउने बोनस औषतमा २८.३६ प्रतिशतले घटेको छ ।

यस अवधिमा सूर्या लाइफ, एलआइसी नेपाल, नेशनल लाइफ, प्रभु लाइफ, मेट लाइफ, एशियन लाइफ, आईएमई लाइफ, प्राइम लाइफका कर्मचारीले पाउने बोनस घटेको हो ।

गत आवको तुलनामा सूर्या लाइफको कर्मचारी बोनस ३९.४६ प्रतिशत, यूनियन लाइफको ६६.९५ प्रतिशत, एलआइसी नेपालको ७१.१८, मेट लाइफको २५.९७ प्रतिशत, प्रभु लाइफको २६.४८ प्रतिशत र प्राइम लाइफको १७.१० प्रतिशतले घटेको हो ।
यस्तै, यस अवधिमा नेपाल लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्सले कर्मचारीका लागि बोनस छुट्याएका छैनन् ।

नेपाल लाइफले गत आवको यसै अवधिमा कर्मचारी बोनस व्यवस्था शिर्षकमा ६ करोड ५१ लाख ४८ हजार रूपैयाँ छुट्याएको थियो । चालु आवको चैत मसान्तसम्मको अवधिमा कम्पनी नोक्सानीमा छ ।

सन नेपाल लाइफले भने नाफा मै रहँदा पनि कर्मचारी बोनसका लागि रकम छट्याएको छैन । गत आवको यसै अवधिमा सन नेपालले १ करोड ६ लाख २२ हजार रूपैयाँ बोनस छुट्याएको थियो ।

यी बाहेकका अन्य कम्पनीका कर्मचारीले पाउने बोनस भने बढेको छ । महालक्ष्मी लाइफ, रिलायन्स लाइफ, रिलायबल नेपाल लाइफ, गुराँस लाइफ, सानिमा लाइफ, एशियन लाइफ, राष्ट्रिय बीमा संस्थान, आइएमई लाइफ, सिटिजन लाइफ र ज्योति लाइफका कर्मचारीले पाउने बोनस बढेको हो ।

नेशलन लाइफका कर्मचारीले ३ करोड १८ लाख १८ हजार रूपैयाँ बोनस पाउने भएका छन् । यूनियन लाइफले कर्मचारी बोनस व्यवस्थाका लागि २७ लाख २७ हजार रूपैयाँ, महालक्ष्मी लाइफले ८० लाख ४६ हजार, रूपैयाँ, एलआइसी नेपाल ५८ लाख ८६ हजार रूपैयाँ, रिलायन्स लाइफले १ करोड ३३ लाख ८७ हजार रूपैयाँ, रिलायबल नेपाल २ करोड १० लाख ६६ ह जार रूपैयाँ छुट्याएका छन् ।

मेट लाइफ २ करोड २५ लाख २ हजार रूपैयाँ, गुराँस लाइफले १ करोड ३१ लाख ६० हजार रूपैयाँ, सूर्या लाइफले १ करोड ६७ लाख ४४ हजार रूपैयाँ, सानिमा लाइफले १ करोड ४८ लाख ६८ हजार रूपैयाँ, प्रभु लाइफले १ करोड १२ लाख ५९ हजार रूपैयाँ, एशियन लाइफले २ करोड ४ लाख ५० हजार रूपैयाँ, राष्ट्रिय बीमा संस्थानले ३८ लाख १२ हजार रूपैयाँ, प्राइम लाइफले २ करोड १० लाख ६० हजार रूपैयाँ, आइएमई लाइफले १ करोड १४ लाख ७२ हजार रूपैयाँ, सिटिजन लाइफ १ करोड ६२ लाख ६० हजार रूपैयाँ र ज्योति लाइफले २ करोड २९ लाख ४५ हजार रूपैयाँ छुट्याएका छन् ।


क्लिकमान्डु