नक्कल गर्ने प्रवृत्तिले बीमा कम्पनीलाई प्रडक्ट टिकाउनै मुस्किल, बीचमै बन्द हुन्छन् पोलिसी



काठमाडौं । नक्कल गर्ने प्रवृत्तिले बीमा कम्पनीहरूलाई प्रडक्ट टिकाउनै मुस्किल पर्ने देखिएको छ ।

हाल १९ वटा कम्पनीले जीवन बीमाको व्यवसाय गर्दै आएका छन् । तर, यी सबै कम्पनीहरूका बीमा योजना एउटै प्रकृतिका छन् ।

योजनाका नाम फरक फरक भएपनि कम्पनीहरूका ती योजनाको प्रकृति भने एउटै भएको विज्ञहरू बताउँछन् ।

कम्पनीहरूको संख्या बढेका छन् । तर, अझै पनि नेपालीको आवश्यकता अनुसारको बीमा योजना बन्न नसकेको विज्ञहरू बताउँछन् ।

बीमा योजना शुरू गर्दा जोखिमको साथै खर्च आँकलन गरिएको हुन्छ । तर, अनुमान गरेभन्दा जोखिम वा खर्च व्यवहारमा फरक देखिन थालेपछि कम्पनीहरूलाई पोलिसी टिकाउन गाह्रो हुन्छ ।

कम्पनीका सञ्चालकका अनुसार जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार (म्यादी) बीमामा घाटा बेहोर्दै आएका छन् ।

यसबाहेकका अन्य पोलिसीहरूलाई पनि टिकाउन गाह्रो हुने अवस्था देखिएको कम्पनीका सञ्चालकहरू बताउँछन् ।

उनीहरूकाअनुसार कम्पनीहरू बीच एक अर्काको पोलिसी नक्कल गर्ने प्रवृत्तिले गर्दा यस्तो जोखिम देखिएको हो । बीमा कम्पनीहरूबीचमा पोलिसी नक्कल गर्ने प्रवृत्तिले ४ वर्षभन्दा अघि ल्याइएका बीमा योजनाहरू टिक्न नसक्ने अवस्थामा आएको जीवन बीमक सञ्चालकहरू बताउँछन् ।

ती प्रडक्टहरू बन्द हुने अवस्थामा आएको उनीहरूको भनाइ छ ।

सूर्या लाइफ इन्स्योरेन्सका सञ्चालक विवेक झा बीमा कम्पनीहरूमा प्रडक्ट कपि गर्ने प्रवृत्तिले कम्पनीहरूलाई प्रडक्ट टिकाउन गाह्रो हुने अवस्था आएको बताउँछन् ।

ठूला कम्पनी र सानो कम्पनी एउटै बाटोमा एकै प्रकारले हिँड्न खोज्दा यस्ता जोखिम बढ्दो अवस्थामा रहेको उनको बुझाइ छ ।

‘४ वर्षअघि ल्याइएका योजनाहरु टिक्न नसक्दा प्रडक्ट नै बन्द गर्नुपर्ने अवस्था आएको छ । जोखिमको कुरा उठेपछि पुँजी स्वतः जोडिन्छ । अहिले बीमा कम्पनीहरूले प्रडक्ट नक्कल गर्दा समस्या देखिएको हो,’ झाले क्लिकमाण्डूसँग भने ।

एउटा कम्पनीले ल्याएको पोलिसी सफल भयो भने सोही प्रकारको पोलिसी अर्को कम्पनीले पनि ल्याउँदा जोखिम बढ्न गएको उनको भनाइ छ ।

पोलिसी नक्कल गर्ने अभ्यासले कम्पनीहरूका प्रडक्टमा नयाँपन नदेखिएको झाको भनाइ छ ।

भौगोलिक परिवेश, संस्कृति, मानिसहरूको आम्दानी स्तर, जोखिम फरक हुने भएकाले सोहीअनुसार बीमा योजना निर्माण गर्नुपर्ने भएपनि कम्पनीहरूले भने सो बमोजिम प्रडक्ट बनाउन नसकेको विज्ञहरू बताउँछन् ।

भौगोलिक परिवेशअनुसार तराई, पहाडी र हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जोखिम फरक फरक हुन सक्छ । तराइ, हिमाली तथा पहाडी क्षेत्रमा बासोबास गर्ने मानिसको जोखिम भिन्न भिन्न हुन्छ ।

मानिसको पेसा, व्यवसायी वा जागिरे व्यक्ति, लिंग र उमेरअनुसार जोखिम भिन्न हुन्छ । यसरी फरक खालका मानिसहरूको जोखिम र आवस्यकताको पहिचान गरी कम्पनीहरूले योजना ल्याउनुपर्ने सरोकारवालाहरू बताउँछन् ।

बीमा कम्पनीहरूले कुनै पनि पोलिसी बजारमा ल्याउँदा कर्मचारीको खर्च, लगानीलगायत सबै पक्षको एक्चुरी भ्यालुएसन गर्छन् । त्यसबाट बीमा कम्पनी कति जोखिममा छ भन्ने थाहा हुन्छ ।

कुनै पनि जीवन बीमा योजना तयार पार्नु पूर्व जीवन बीमा योजनाको सम्बन्धमा पहिले अवधारणा तयार पार्नुपर्छ । बीमा योजनाका विशेषता, बीमा योजनाको लक्षित वर्ग तथा बजारको बारेमा अध्ययन गरिन्छ ।

बीमा पोलिसीको निश्चित अवधि हुन्छ  । योजनाअनुसार पोलिसीको अवधि पनि फरक फरक हुन्छ । नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूमा प्रायः गरी १०, १५, २०, २५, ३० वर्षसम्म अवधिका बीमा योजना प्रचलनमा छन् ।

कम्पनीले तयार पारेको बीमा पोलिसीअनुसार बीमा पोलिसीको पनि अवधि निर्धारण गरिएको हुन्छ ।

कम्पनीहरूले बीमालेख तयार गर्नुपूर्व विभिन्न सूचकहरूको अध्ययन गर्छन् । अर्थात् ती सूचकहरूको पूर्वानूमान गरी बीमाशुल्क निर्धारण गरिन्छ । साथै, सो बमोजिम बीमा अवधि पनि तय गरिन्छ ।

बीमा योजना बनाउनु अघि बीमितको मृत्युदरको अनुमान गरिने विज्ञहरू बताउँछन् । मृत्युदरको आधारमा बीमितको मृत्युदरको अनुमान गर्ने गरीन्छ । नेपाली बीमा कम्पनीहरूले मृत्युदर तालिका ०६६ अनुसार बीमितको मृत्युदरको अनुमान गर्छन् ।

यस्तै, वित्तीय संस्थाको ब्याजदर, कम्पनीको व्यवस्थापन खर्च र बीमा पोलिसीको निरन्तरता अथवा नवीकरण हुँदै जाने पूर्वअनुमान गरिन्छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल जीवन बीमा कम्पनीहरूमा भएका पोलिसीहरू परम्परागत रूपमा आधारित भएको बताउँछन् । आवश्यकताअनुसार कम्पनीहरूले बीमा योजना बनाउनु पर्ने उनले बताए ।

जसका लागि कम्पनीहरूलाई पहल गर्न आग्रह गर्दै आएको उनको भनाइ छ । समयसापेक्ष कम्पनीहरूमा सञ्चालनमा रहेको प्रडक्टहरूलाई नयाँपन दिनुपर्ने उनको भनाइ छ ।

बीमा क्षेत्रका लागि चाहिने पर्याप्त जनशक्तिको अभावले पनि नेपालको बीमा क्षेत्र विदेशी मुलुकको तुलनामा पछि परेको उनले बताए ।

बीमामा नयाँपन ल्याउन चाहे पनि आर्थिक स्रोत नहुनु र भएको स्रोतलाई पनि सही रूपले परिचालन गर्नका लागि दक्ष जनशक्तिको उत्पादन हुन नसकेको उनको भनाइ छ ।


क्लिकमान्डु