१० महिनामा १६ खर्ब ५ अर्बको आयात, गतवर्षको रेकर्ड ब्रेक



काठमाडौं । नेपालले आयातमा नयाँ रेकर्ड कायम गरेको छ । गत वर्ष १५ खर्ब ३९ अर्ब रकम बराबरको वस्तु आयात गरी नयाँ रेकर्ड कायम गरेको थियो ।

तर, चालु आर्थिक वर्षको १० महिनाको अवधिमै हालसम्मकै उच्च आयात गरी नयाँ रेकर्ड कायम गरेको छ । नेपालले चालु आर्थिक वर्षको १० महिनाको अवधिमै १६ खर्ब ४ अर्ब ६५ कराेड रुपैयाँ आयात गरेको छ ।

नेपालले हालसम्म उक्त रकम बराबरको वस्तु आयात गरेको थिएन । जसमा गत एक आर्थिक वर्षसँग चालु आर्थिक वर्षको वैशाखमसान्तमा आयात भएको वस्तुको तुलना गर्ने हो भने १० महिनाको अवधिमै ६४ अर्ब बढीको आयात भएको देखिन्छ ।

नेपालले उच्च आयात भएको भन्दै विभिन्न वस्तुमा प्रतिबन्ध गरेको छ । साथै, नेपाल राष्ट्र बैंकले ४७ वटा वस्तुको आयातमा प्रतिपत्र (एलसी) को व्यवस्था गरेको छ । सो व्यवस्था गरेपनि आयातमा भने कुनै कमी आएको देखिँदैन ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा बोल्दै १० महिनाको अवधिमा १६ खर्ब बढीको वस्तु आयात भएको बताएका छन् । त्यसैगरी, १० महिनाको अवधिमा निर्यातमा समेत नयाँ रेकर्ड कायम गरेको छ ।

नेपालले १० महिनाको अवधिमा १ खर्ब ७३ अर्बको निर्यात गरेको छ । गत वर्षको तुलनामा नेपालको आयात २७.९५ प्रतिशतले बढेको छ भने ५९.८ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।

नेपालले आयात गरेको वस्तुको तुलनामा निर्यातको हिस्सा निकै कमजोर रहेको छ । त्यसैले, गत वर्षको तुलनामा २४.०९ प्रतिशतले वृद्धि भई १४ खर्ब ३१ अर्ब रुपैयाँको व्यापारघाटा व्यहोरेको छ ।


क्लिकमान्डु