अबदेखि नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिलाई बराबरी प्रत्यक्ष हिस्सा



काठमाडौं । सरकारले आफ्नै लगानीमा सञ्चालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीको व्यापार खोस्ने निर्णय गरेको छ ।

सरकारले हाल नेपाल पुनर्बीमा कम्पनीलाई दिइदै आएको २० प्रतिशत प्रत्यक्ष हिस्सा निजी कम्पनी हिमालयन रिलाई पनि बाँड्ने निर्णय गरेको हो ।

हालसम्म सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको २० प्रतिशत पुनर्बीमा व्यवसायको आधा हिस्सा हिमालयन रिलाई दिने निर्णय भएको समितिले बताएको छ ।

नेपाल सरकारले नेपाल पुनर्बीमा कम्पनीमा सबै बीमा कम्पनीहरूले प्रत्यक्ष हिस्साको २० प्रतिशत पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमा अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको थियो ।

सरकारले सो व्यवस्थालाई परिवर्तन गर्दै दुवै कम्पनीलाई बराबरी हिस्सा दिने निर्णय गरेको हो ।

तत्कालन अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा नै सो व्यवस्था गरेका थिए ।

आर्थिक वर्ष २०७५÷७६ को बजेट वक्तव्यमार्फत २० प्रतिशत अनिवार्य पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमा गराउनुपर्ने व्यवस्था गरिएको थियो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको २० प्रतिशत व्यवसाय दुबै पुनर्बीमा कम्पनीलाई बराबरी बाँडने निर्णय भएको बताए ।

उनका अनुसार अबदेखि नेपाल पुनर्बीमा र हिमालयन रिले १०/१० प्रतिशत व्यवसाय पाउनेछन् । बीमा समितिले सो हिस्सालाई पनि प्रत्येक वर्ष २ प्रतिशतका दरले घटाएर ५ वर्षमा शुन्यमा झार्ने निर्णय लिएको उनको भनाइ छ ।

तर, बीमकहरू भने यी दुवै कम्पनीलाई समान व्यवसाय दिन नहुने बताउँछन् ।

हिमालयन रि इन्स्योरेन्स हाल सालै दर्ता भएको र सर्वसाधारण सेयर समेत जारी नगरेको हुँदा कम्पनीको स्वधारण क्षमता नेपाल पुनर्बीमा कम्पनीको तुलनामा अत्यधिक कम रहि क्षतिको दावी भूक्तानी गर्ने क्षमता समेत कम रहेको बीमक संघको भनाइ छ ।

हिमालयन रि इन्स्योरेन्सको नेटवर्थ ७ अर्ब र नेपाल पुनर्बीमा कम्पनीको १५ अर्ब रूपैयाँ रहेकोले जोखिम धारण क्षमता पनि सोहि आधारमा फरक हुने संघको बुझाइ छ ।

नेपालमा नेपाल पुनर्बीमा र हिमालयन रि इन्स्योरेन्स सञ्चालनमा छन् । नेपाल पुनर्बीमामा नेपाल सरकार र निर्जीवन बीमा कम्पनीहरूको लगानी छ । यस्तै, भर्खर स्थापना भएको हिमालयन रिमा निजी क्षेत्रको लगानी छ ।


क्लिकमान्डु