रेमिट्यान्स र राजस्व जतासुकै प्रयोग गर्ने भूँइफुट्टाहरुको जन्म भएको छः मिनेन्द्र रिजाल



काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले पछिल्लो समय रेमिट्यान्स र भन्सार करबाट प्राप्त हुने राजस्व चलाउने भूँइफूट्टा जमातको जन्म भएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बजेटका सिद्दान्त र प्राथमिकता सम्बन्धीे विधेयकमाथिको छलफललमा बोल्दै नेता रिजालले भने, ‘पहिले विदेशी सहायता चलाउने भूँइफूट्टा वर्ग थियो, अहिले रेमिट्यान्स र भन्सारबाट स्वतः प्राप्त हुने राजस्व जतासुकै प्रयोग चलाउन पाउने भूँइफूट्टा जमातको जन्म भएको छ ।’

मुलुकमा उत्पादन होस् वा नहोस्, रेमिट्यान्स आएकै छ र त्यही पैसाले आयात गर्न पुगेको र आयात गर्दा भन्सारबाट प्राप्त हुने राजस्व मनलाग्दी खर्च गर्ने भूँइफुट्टा जमातको अहिले जन्म भएको उनको भनाइ छ ।

उनले संसदमा बजेटका प्राथमिकता के हुन् भन्ने विषयमा स्पष्ट अंक नभएकाले छलफल प्रभावकारी नहुने समेत बताए ।

उनले पुँजीगत खर्च यो वर्ष हुन नसकेको भन्दै यो वर्तमान सरकारको मात्रै कमजोरी नभइ लामो समयदेखि कै समस्या भएको बताए ।

‘यो संसद बनेपछि पहिलो वर्ष २४१ अर्ब रुपैयाँ, अर्को वर्ष १८९ रुपैयाँ र तेस्रो वर्ष २२८ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ, यो वर्षपछि त्योभन्दा बढी हुँदैन,’ उनले भने ।

‘यो ९ महिनामा आएको समस्या होइन, संरचनामै देखिएको समस्या हो,’ उनले भने, ‘हामीले तितो मुख लगाएर एक अर्कालाई आरोप लगाएर हुँदैन ।’

उनले रेमिट्यान्स घट्दै गएको भन्दै यो ठूलो समस्या भने नभएको बताए ।

‘अहिले शोधनान्तर घाटा३५६ अर्ब रुपैयाँ पुगेको छ, यो किन भयो त,’ उनले भने, ‘कृषि र खाद्यान्नमा ९० अर्बले ३०० अर्ब रुपैयाँ पुगेको छ, लत्ताकपडामा ४० अर्बले बढेर १४५ अर्ब, स्वास्थ्य तथा औषधिमा ४५ अर्बले बढेर ११५ अर्ब, इन्धनमा १०० अर्बले बढेर २२० अर्ब पुगेको छ, यसरी २७५ शोधनान्तर घाटामा परेको छ । र, अर्थतन्त्रको संरचनामा असर परेको छ ।’

उनले ३३० अर्ब रुपैयाँको खाद्यान्न आयात भइरहेको भन्दै कसैले पनि कृषिको उत्पादन बढाउन कसैले गम्भीर भएर छलफल नगरेको बताए । लत्ताकपडा उद्योग स्थापनाका लागि पनि कसरी प्रयास गर्ने भन्नेमा छलफल गर्नुपर्ने आवश्यकता छ ।

उनले आन्तरिक ऋण जीडीपीको अघिल्लो सरकार आउनुअघि जीडीपीको २.९ प्रतिशतसम्म थियो र यो सरकार आउनुभन्दा अघि ५.२ प्रतिशतमा पुग्यो । आन्तरिक ऋण बढ्नु भनेको निजी क्षेत्रले बैंकिङ प्रणालीबाट ऋण लिन समस्या हुनु हो । अहिले बैंकिङ प्रणालीमा तरलता अभाव भएको छ । अहिले ब्याजदर बढेको छ त्यसतर्फ खासै गएको छ भन्ने तर्फ ध्यान गएको छैन ।


क्लिकमान्डु