बीमा गर्नेहरू बढे, तर पोलिसी ल्याप्सको अवस्था उस्तै



काठमाडौं । नेपालमा जीवन बीमा व्यवसाय शुरू भएको झण्डै ५ दशक भयो । तर यति लामो समयसम्म पनि यसको दायरा अपेक्षाकृतरुपमा बढ्न सकेको थिएन ।

तर, पछिल्ला ४÷५ वर्ष यता भने बीमाको व्यवसायसँगै पहुँच पनि बढेको तथ्यांकले पुष्टि गर्छ । ५ वर्षको अवधिमा बीमाको पहुँच ७ प्रतिशतबाट ३७.३४ प्रतिशतमा पुगेको छ ।

नेपालमा १ वर्षमै १०.१४ प्रतिशत विन्दुले बढेर चालु आवको चैत मसान्तसम्ममा ३७.३४ प्रतिशत नेपालीमा जीवन बीमाको पहुँच पुगेको हो ।

तर, बीमालेख खरिद गर्नेहरूको संख्या बढ्दै गए पनि पोलिसी नवीकरण नहुने समस्या भने उस्तै छ । समितिका अनुसार अहिले पनि केही जीवन बीमा कम्पनीहरूमा पोलिसी ल्याप्सको अनुपात २२ प्रतिशतसम्म छ ।

बीमा कम्पनीहरूमा ल्याप्सको अनुपात २१ प्रतिशतसम्म पुगेपछि त्यसलाई नियन्त्रण गर्न समितिले निर्देशन दिएको थियो ।

समितिले गत असार महिनामा जीवन बीमा कम्पनीहरूलाई पोलिसी ल्याप्सको अनुपात ५ प्रतिशतमा सीमित पार्न निर्देशन दिएको थियो ।

उच्च व्यतितदर देखिएका कम्पनीलाई ५ प्रतिशतमा झार्न निर्देशन दिइएको थियो ।

अन्तर्राष्ट्रिय अभ्यासअनुसार बीमा पोलिसी व्यतीतदर ५ प्रतिशतसम्मलाई ठीकै मानिन्छ । सोही बमोजिम समितिले पनि कम्पनीहरूलाई पोलिसी ल्याप्स ५ प्रतिशतमा झार्न निर्देशन दिएको थियो ।

तर, पनि समितिले पोलिसीको ल्याप्स अनुपातलाई नियन्त्रण गर्न भने सकेको छैन । समितिसँग पोलिसी ल्याप्स सम्बन्धी यकिन तथ्यांक भने छैन ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार कम्पनीहरूमा २० देखि २२ प्रतिशतसम्म पोलिसी निष्किृय हुन्छन् । उनका अनुसार सबै कम्पनीहरूमा ल्याप्सको अनुपात भने एउटै छैन ।

जीवन बीमा कम्पनीहरूमा बढीमा २२ प्रतिशतदेखि थोरैमा ३ प्रतिशतसम्म पोलिसी निष्किृय हुने गरेको समितिको भनाइ छ । कुनै कम्पनीहरूमा ११, १२ र १० प्रतिशतसम्म पनि पोलिसी ल्याप्स हुने गरेको समितिको भनाइ छ ।

‘कम्पनीहरूमा २२ प्रतिशतसम्म पोलिसी ल्याप्स हुन्छन् । धेरै भनेको २२ प्रतिशतसम्म हो । थोरैमा ३ प्रतिशतसम्म ल्याप्स हुने गरेका छन्,’ कार्यकारी निर्देशक पौडेलले क्लिकमाण्डूसँग भने, ‘तर, सबै कम्पनीमा यस्तो अवस्था छैन । कुनै कम्पनीहरूमा ११, १२, १० प्रतिशतसम्मको अनुपातमा पोलिसी ल्याप्स हुन्छन् ।’

केही कम्पनीहरूमा ३ देखि ५ प्रतिशतसम्मको अनुपातमा पोलिसी निष्किृय हुने उनको भनाइ छ । समितिका कार्यकारी निर्देशक पौडेल कम्पनीहरूको अण्डरराइटिङ कस्तो हुन्छ, पोलिसी निष्किृय हुने अनुपात त्यसमै भरपर्ने बताउँछन् ।

‘जीवन बीमा कम्पनीहरूमा हुने फाइनान्सियल र मेडिकल अण्डरराइटिङ राम्रो भयो भने पोलिसी ल्याप्स कम हुन्छ,’ पौडेलले भने, ‘यी कुराहरू राम्रो नभए कम्पनीहरूमा पोलिसी ल्याप्सको अनुपात बढी हुन्छ ।’

उनका अनुसार पोलिसी व्यतित अनुपात घटाउन कम्पनीहरूले राम्रोसँग अण्डरराइटिङ गर्नुपर्छ । तर, विज्ञहरूका अनुसार भने बीमा पोलिसी सम्र्पण हुने र नवीकरण नहुने समस्याको मूख्य कारण भने बीमा अभिकर्ता हुन् ।

उनीहरूले सही सूचना नदिँदा बीमितहरूले पोलिसीलाई निरन्तरता नदिने उनीहरूको भनाइ छ । बीमितलाई बीमा सम्बन्धी सही सूचना नपुगेमा यस्तो समस्या आउँछ ।

जीवन बीमा व्यवसाय पूर्णरूपमा अभिकर्तामा निर्भर हुन्छ । अर्थात् बीमा कम्पनीहरूको बीमा योजना बिक्री गर्ने माध्यम अभिकर्ता हुन् ।

ल्याप्सको अनुपात घट्ने बढ्ने प्रक्रिया अभिकर्तामा निर्भर हुने उनीहरूको बुझाइ छ । अभिकर्ताहरूले बीमितलाई बीमा योजनाका बारेमा नबुझाइ बीमालेख बिक्री गर्दा सो बीमालेखले निरन्तरता नपाउने उनीहरूको भनाइ छ ।

बीमा पोलिसीलाई सक्रिय राख्न नियमित पोलिसी नवीकरण गर्नुपर्छ । नियमित ३ वर्ष बीमाशुल्क नबुझाएका पोलिसी ल्याप्स हुन्छ । पोलिसीलाई चलयामान राख्न नियमित बीमाशुल्क तिर्नुपर्छ ।

अभिकर्ता र कम्पनीले बीमितको आर्थिक क्षमताको आधारमा पोलिसी बिक्री गर्नुपर्छ । तर, पनि नेपालको परिप्रेक्षमा कमिशनको लोभले पनि बीमितको आर्थिक क्षमता भन्दा धेरै रकमको पोलिसी भिडाउने परिपाटी छ । आर्थिक अवस्थाले थेग्नेभन्दा धेरै रकमको पोलिसी खरिद गरेमा सो समस्या निम्तिने विज्ञहरू बताउँछन् ।

पर्याप्त मात्रामा तालिम नलिएका अभिकर्ताहरूले बिक्री गरेका पोलिसीले निरन्तरता नपाउने अभिकर्ताहरू बताउँछन् । तालिमप्राप्त अभिकर्ताहरूबाट बिक्री भएका पोलिसी भने कमै मात्रामा निष्किृय हुने अभिकर्ताहरूको भनाइ छ ।

जबरजस्ती बिक्री गरिएका पोलिसी लामो समयसम्म चल्दैनन् । अर्थात् अभिकर्ताले बीमाको बारेमा बुझाएर बिक्री गरिएका पोलिसी ल्याप्स हुँदैनन् ।

अभिकर्ताले आफ्ना बीमितलाई बीमाशुल्क बुझाउने समयका बारेमा जानकार गराएमा ल्याप्सको अनुपात घट्न सक्ने विज्ञहरूको भनाइ । पोलिसी बिक्री गर्नुपूर्व नै सबै सूचना सही दिएर अभिकर्ताहरूलाई राम्रोसँग परिचालन गर्दा भने ल्याप्सको अनुपात घट्ने उनीहरूको बुझाइ छ ।

बीमितले प्रिमियम तिरेपछि बीमालेख नवीकरण हुन्छ । तोकिएको समयमा नवीकरण नगरेमा बीमालेख व्यतित हुन्छ  । मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा पनि बीमितले आफ्नो बीमालेख नवीकरण गर्न सक्छन् ।

बीमालेख नवीकरणको अथवा बीमाशुल्कको किस्ता भुक्तानी गर्न कम्पनीहरूले ३० दिनको समय दिने गर्छन्  । सो अवधिभित्र पनि नवीकरण नगरेमा ती बीमितको बीमालेख निष्क्रिय हुन्छ । सो बीमालेखले बीमितको कुनै पनि जोखिम सुरक्षण नगर्ने बीमकहरू बताउँछन् ।

कम्पनीहरूले व्यतित बीमालेख पुर्नजागरण गर्न कहिले काँही ब्याज छुटसहितको अफर ल्याउँछन् । कम्पनीले तोकेको समयमा तोकिएको विलम्ब दस्तुर तिरेर निष्क्रिय भएको पोलिसीलाई पुर्नजागरण सकिन्छ ।


क्लिकमान्डु