भारतसँग असमान व्यापार सम्झौता पुनरावलोकन गर्नुपर्छः डा. बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालले आर्थिक राष्ट्रियतालाई गम्भीर ढंगले लिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बजेटका सिद्दान्त तथा प्राथमिकता विधयेकमाथिको छलफलमा बोल्दै भट्टराईले भारतसँग भएको व्यापार सम्बन्ध सुधार गर्नुपर्ने बताए ।

उनले पछिल्लो विगतमा निर्यातको तुलनामा ५ गुणा मात्रै आयात रहेकोमा अहिले १५ गुणा पुग्नुको कारण नै असमान व्यापार सम्झौता भएकाले पुनरावलोकन आवश्यक भएको बताए ।

उनले आजको आवश्यकता आर्थिक राष्ट्रियताको विषय भएको भन्दै यो मुद्दा अघि बढाउनुपर्ने बताए । उनले व्यापारका लागि चीनभन्दा भारत सहज भएको तर भारतसँग असमान व्यापार सन्धीहरुलाई पुनरावलोकन गर्नुपर्ने बताए ।

भारत र नेपाल दुबै देशका लागि के लाभ हुन्छ ? त्यसलाई विशेष ध्यान दिएर सम्झौता सच्याउनु पर्ने उनको भनाइ छ ।

‘चीनमा व्यापार गर्नका लागि ढुवानीका हिसाबले गाह्रो छ, चीनको बजारसम्म पुग्दा मूल्य अत्यधिक हुन्छ, तर भारतसँग व्यापार गर्न सहज हुन्छ, त्यसैले त्यसैमा हामी बढी केन्द्रित हुनुपर्छ,’ उनले भने ।

भारतसँग एतिहासिक, भौगोलिक हिसाबले पनि भारतसँग व्यापार गर्न सहज हुने भन्दै अब असमान सम्झौताहरु सच्चाउनुपर्ने बताए । यस विषयमा गम्भीर ढंगले छलफल आवश्यक भएको उनको भनाइ छ ।

उनले संघीय संरचनालाई बलियो बनाउनु पर्ने भन्दै पैसा बढी पठाउनु पर्ने बताए ।

‘अहिले ३० प्रतिशत बजेट स्थानीय तह र केन्द्रमा ७० प्रतिशत बजेट राख्दै आइएकोमा यसलाई उल्ट्याएर स्थानीय तहमा ७० प्रतिशत र केन्द्रमा ३० प्रतिशत बजेट राख्नुपर्छ,’ उनले, ‘राजनीतिक लोकतन्त्रको स्थायित्वका लागि यो आवश्यक छ ।’

उनले त्यसो गर्न सकियो भने विकास तलदेखि नै हुने बताए । उनले स्थानीय तहको विकास भएपछि मात्रै केन्द्रको विकास हुने बताए । उनले यसले सामाजिक न्याय पनि हुने बताए ।


क्लिकमान्डु