राजेन्द्र खेतानले सेयर बजारबाट ९ महिनामा गुमाए ५ अर्ब, ‘४/१२ को नीति नहट्दासम्म बजार बढ्दैन’



सेयर बजार बियरिस ट्रेन्डमा जाँदा कैयन सेयर लगानीकर्ताको लगानी डुबेको छ । कम्पनीहरुको सेयर मूल्य ५० प्रतिशतसम्म ओरालो लाग्दा लगानीकर्ताको पोर्टफोलियो पनि उसैगरी घटेको छ । सेयर बजारको ग्राफ ओरालो लाग्दै गर्दा पछिल्लो ९ महिनामा लगानीकर्ताहरुले हजारदेखि अर्बौ रुपैयाँसम्म गुमाएका छन् । यसरी लगानी गुमाउनेहरुमा पर्छन, अर्बपति व्यवसायी राजेन्द्र खेतान । उनले सेयर बजारबाट पछिल्लो ९ महिनामा ५ अर्ब बराबरको सम्पत्ति गुमाएको बताउँछन् । सेयर बजार मापक नेप्से परिसूचकले एतिहासिक ३२ सय अंक पुगेको समय र अहिलेको समयमा आइपुग्दा पोर्टफोलियोमा ५ अर्ब रुपैयाँ कम भएको उनको भनाइ छ । विभिन्न उद्योग, ट्रेडिङ हुँदै पछिल्लो समय लगानी वित्तीय क्षेत्र र सेयर बजारमा मात्रै केन्द्रित उनको लगानी ट्रेण्डलाई कसरी हेरेका छन् त ? उनको भनाइ जस्ताको तस्तै ।

नेपालमा सेयर बजारमा प्रभाव पार्ने तत्व तरलता र ब्याजदर नै हो । तरलता बढी भएपछि ब्याजदर घट्छ र सेयर बजार बढ्छ । यस्तै तरलता कम हुँदा ब्याजदर बढ्छ र सेयर बजार घट्छ । अहिले तरलता समस्यासँगै ब्याजदर पनि बढी छ । जसका कारण सेयर बजार ओरालो यात्रामा छ ।

यसबाहेक मानिसहरु व्यस्त भएमा सेयरमा लगानी नगर्ने देखिएको हो । कोभिडको समयमा मानिसहरु घरमै थिए । सेयर ट्रेडिङ एक मात्रै काम भएको जस्तो अवस्था थियो । त्यो समयमा उनीहरुले आफ्नो सम्पत्ति सेयरमा लगानी गरे । कोभिडपछिको अर्थतन्त्रमा पर्ने असर अहिले देखिएको छ ।

सेयर बजार घट्नुमा तरलता बाहेक नियमनकारी निकायले लिएका नीतिहरु पनि प्रमुख कारक हुन् । नेपाल राष्ट्र बैंकले सीसीडी रेसियोबाट सीडी रेसियोमा जाने निर्णय लियो । जसले गर्दा ६ खर्बजति रकम बैंक तथा वित्तीय संस्थाको सरकारको ऋणपत्रमा लगानी गर्न सक्ने तर, सर्वसाधरणलाई दिन नसक्ने स्थिती देखियो ।

अर्थतन्त्रमा केही समस्या रहेको बेला अनावश्यक हल्ला चलाइयो । नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै हुने भ्रम फैलाइयो । जसले गर्दा जनताले सुनमा लगानी गरे भने घरमै पैसा राख्ने प्रवृति बढ्यो । डिजिटल कारोबार बढेको भएपनि नगद राख्ने प्रवृति बढेको देखियो । राष्ट्र बैंकको तथ्यांकले पनि १ खर्ब रुपैयाँ नगद कोभिडको समयभन्दा अहिले बढेको देखायो ।

सेयर बजार घटेको भएपनि पुँजीबजारका लागि केही सुखद् विषय पनि छन् । डिम्याट खोल्नेको संख्या ५१ लाखभन्दा बढी पुगेको छ । सेयर बजारमा सक्रिय लगानी गर्ने लगानीकर्ताको संख्या १२ लाखभन्दा बढी छ ।

यो भनेको आर्थिक विकास चाहनेहरुको संख्या हो । यो निकै ठूलो संख्या हो । जसले चाहेमा नेपाललाई विकास नै गर्न सक्छ । अर्थतन्त्र भाइब्रेन्ट हुन लागेको संख्या यसले देखाएको छ । अझ विदेशमा बस्ने नेपालीले सहज रुपमा सेयर किन्न र बेच्न नपाउने अवस्था छ ।

अहिले सेयर बजार घटेको समय छ । लगानी गरेपछि घाटा भएपछि निराश हुनु स्वभाविक हो । तर ,लगानीको तरिकाले बजार आगामी दिनमा समेत घट्ने खालको समस्या देखिने खतरा छ । अहिले सेयर ब्रोकरले सेवा शुल्क लिएर लगानीकर्तालाई सिकाउन नपाउने अवस्था छ ।

लगानीकर्तालाई अन्डर प्राइस र ओभर प्राइसको बारेमा जानकारी नदिएसम्म यस्तो दुर्घटना हुनु स्वभाविक हो । अन्डर प्राइस र ओभर प्राइस नबुझेर लगानी गरेको कारण लगानीकर्ताले बढी गुमाउने गर्छन् ।

एउटा उदाहरणलाई लिएर बुझौं, एसबिआई बैंकमा १ हजार रुपैयाँमा २० प्रतिशत प्रतिफल छ र अर्कोमा ८०० रुपैयाँमा २० प्रतिशत छ भने म ८०० को सेयर किन्छु । तर, धेरै लगानीकर्ताले १ हजार रुपैयाँमा एसबिआईको सेयर किन्छन् ।

ओभर प्राइसमा गएर किनेको सेयरबाट त बढी फाइदा हुँदैन । अहिले लगानीकर्ताले बजारमा ६० प्रतिशतसम्म आफ्नो सम्पत्ति गुमाएका छन् । ३२ सय पुगेको बजारको आधारमा मेरो २० प्रतिशतमात्र सम्पत्ति गुमेको छ ।

मेरा धेरै साथीहरुले ६० प्रतिशतसम्म गुमाएका छन् । मैले ओभर प्राइस र अन्डरप्राइस बुझेको कारण कम गुमाए । रकममा भन्दा ९ महिनामा मेरो सेयर बजारको सम्पत्ति अहिले करिब ५ अर्बले घटेको छ ।

सारमा भन्दा मैले ९ महिनामा ५ अर्ब रुपैयाँ गुमाए । सेयर बजारमा मूल्य बढ्ने तथा घट्ने हुँदा कमाउने र गुमाउने हुन्छ । अहिले ५ अर्ब गुमेको मेरो सम्पत्ति २ वर्षमा १० अर्बले बढ्छ । यो स्वभाविक प्रक्रिया हो ।

सेयर बजार घटेको भएपनि अब किन्ने मौका आएको छ । बजार सधै बढ्ने र सधै घट्ने हुँदैन । बजार घटेको हुँदा अब किन्ने समय आएको छ ।

लगानीगर्दा लगानीकर्ताले कस्ट प्राइस, रिर्टन, कम्पनीको भविष्य तथा विगत हेरेर लगानीको निर्णय लिनुपर्छ । तपाईंको अन्तरमनले देखाएको हुन्छ । म आफूले सेयर किन्ने तरिका त्यही हो ।

नियमनकारी निकायले सेयर बजार घटाउनको लागि धेरै खराब नीति लिए । त्यसमा

४÷१२ को नीति प्रमुख छ । तर मलाई व्यक्तिगत रुपमा यो नीतिको असर छैन ।

। तर,यसले लगानीकर्तालाई मनोवैज्ञानिक असर पारेको छ । एउटा बैैंकबाट ४ करोडभन्दा बढी ऋण लिनेलाई असजिलो भयो । ४ करोडभन्दा बढी ऋण लिनेहरुलाई निराश भए ।

४/१२ को नीति परिवर्तन नगर्दासम्म बजार बढ्नको लागि समस्या छ । बैंकले ऋण दियो भन्दैमा क्षमता भएन भने ऋण लिने हुँदैन । यो नीति नहट्दासम्म बजारमा मनोवैज्ञानिक त्रास कायम रहने छ । त्यसैले यो नीति परिवर्तन हुन आवश्यक छ ।

राष्ट्र बैंकले सेयर बजारलाई बढ्यो भन्दैमा केही नीतिहरु खराब लियो । जस्तो बैंक तथा वित्तीय संस्थालाई एकवर्षसम्म सेयर बेच्न नपाउने व्यवस्था गर्यो । राज्यका नियमनकारी निकाय बजारप्रति नकारात्मक भए । करको नियम नै खराब बराबर भए ।

अहिले म्युचुअल फन्डहरुले आफ्नो कामको प्रकृतिअनुसार काम गर्न सकेका छैनन् । यसको उद्देश्य सामुहिक लगानी गरेर दीर्घकालीन प्रतिफलको लागि तयार गर्ने हो । यस किसिमका योजनाहरु बनेका छैनन् ।

सामुहिक लगानी कोषहरु, सञ्चय कोष, नागरिक लगानी र जीवन बीमा कम्पनी मिलेर दीर्घकालिन लगानीका लागि काम गर्नुपर्छ । अहिले आफ्ना छोराछोरीको लागि म्युचुअल फन्डमा ५ लाख रुपैयाँ जम्मा गरेर भविष्यको लागि सुरक्षित हुने योजना हुनुपर्ने हो तर त्यो मिसिमको स्किमहरु छैनन् । जुन कुरा भारतका म्युचुअल फन्डहरुले ल्याएका योजनाहरुबाट पनि सिक्न सकिन्छ ।


क्लिकमान्डु