स्थानीय निर्वाचनमा धेरै ठाउँ जित्न नसकेपछि गठबन्धनसँग रिसाए माधव नेपाल, भने- धोका भयो



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विषयमा समिक्षा गर्नुपर्ने बताएका छन् ।

मंगलवार २९औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा(एकीकृत समाजवादी)ले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन प्रति असन्तुष्टि व्यक्त गर्दै समिक्षा गरिने बताएका हुन् ।

उनले स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पार्टीले प्राप्त गर्नुपर्ने जति नभएको निकीर गरे । उनले पार्टीले अपेक्षा गरे अनुसार मत परिणाम नआएको भन्दै गठबन्धनका घटकहरुले नै आफुहरुसँग सहकार्य गर्न नचाहेको उल्लेख गरे । उनले घुमाउरो तरिकाले गठबन्धनले धोका दिएको बताए ।

नेपालको भनाइ जस्ताको त्यस्तै

हाम्रो पार्टी निर्माणका सवालमा हामीले गम्भिर छलफल चलाउनुपर्ने आवश्यकता छ । हामी निर्वाचनको पनि गम्भिर समिक्षा गर्नेछौँ । गठबन्धनको पनि समिक्षा हामी गर्नेछौँ । समिक्षा गरेर कहाँ राम्रो भयो, कहाँ त्रुटी ग¥यौँ र आगामी दिनमा हामीले के कुरामा होस गर्नुपर्ने हो । त्यसो हुनाले हामीले अहिलेसम्मको निर्वाचनको परिणाम अवश्यपनि हाम्रो पार्टीले प्राप्त गर्नुपर्ने जति छैन होला । संख्याको हिसाबले ५०० को सदस्यको तहलाई अहिले हामी नाघिरहेका छौँ । सय जनाको संख्यामा वडा अध्यक्ष जित्ने स्थिति बनाएका छौँ । झन्डै १५, २० जना पालिकाका प्रमुख, उपप्रमुख जित्ने स्थिति बनेको छ । कतिपय ठाउँहरुमा राम्रै अवस्था पनि छ । अझैपनि कतिपय ठाउँहरुमा हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौँ । गठबन्धन दलका सदस्यहरुले हामीसँग सहकार्य गर्न चाहेनन् । हाम्रा आफ्नै कुराहरु होलान् । अरुका आफ्नै गुनासाहरु होलान् । जे सुकै गरेपनि यो पार्टीलाई बलियो जगमा उभ्याउनु पर्नेछ । यो पार्टीलाई जनताको माझमा क्रियाशिल गर्नुपर्ने छ ।


क्लिकमान्डु