पुनर्बीमा कम्पनीको लगानी २६ अर्ब नजिक
काठमाडौं । नेपालमा २ वटा कम्पनीले पुनर्बीमाको व्यवसाय गर्दै आएका छन् । ती कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिसम्ममा करीब २६ अर्ब रूपैयाँ लगानी गरेका छन् ।
नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिले चालु आवको तेस्रो त्रैमाससम्ममा २५ अर्ब ९६ करोड ४५ लाख ६४ हजार रूपैयाँ लगानी गरेका हुन् ।
नेपाल पुनर्बीमाले १८ अर्ब ६१ करोड ९५ लाख ६४ हजार रूपैयाँ र हिमालयन रिले ७ अर्ब ३४ करोड ५० लाख रूपैयाँ गरी सो बराबरको रकम विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।
बीमा समितिले बीमकको लगानीसम्बन्धी निर्देशिका, २०७५ जारी गर्दै घरजग्गा व्यवसाय, जलस्रोत, कृषि, पर्यटन, सामूहिक लगानी कोषलगायतका क्षेत्रमा लगानी गर्न सक्ने बाटो खोलिदिएको थियो ।
तर, लगानीको दायरा फराकिलो भए पनि पुनर्बीमा कम्पनीको लगानी भने अझै पनि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्रै सीमित भएको छ ।
बीमा समितिद्धारा जारी बीमकको लगानी निर्देशिकामा तोकिएको क्षेत्रमा लगानी नगरि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्रै केन्दि«त भएका हुन् ।
पुनर्बीमा कम्पनीहरूले कुल लगानीको ८७.१५ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा गरेका छन् ।
दुबै कम्पनीले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्रै कुल लगानीको ८७.१५ प्रतिशत अर्थात २२ अर्ब ६२ करोड ७१ लाख ७५ हजार रूपैयाँ लगानी गरेका हुन् ।
कम्पनीहरूले क बर्गको मुद्दती नक्षेपमा २० अर्ब ८९ करोड ५० लाख रूपैयाँ र ख बर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १ अर्ब ७३ करोड २१ लाख ७५ हजार रूपैयाँ लगानी गरेका छन् ।
कम्पनीहरूले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ९ करोड ४७ लाख रूपैयाँ लगानी गरेका छन् । जुन कुल लगानीको ०.३६ प्रतिशत मात्रै हुन आउँछ ।
क, ख र ग बर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा कम्पनीहरूले २० करोड रूपैयाँ लगानी गरेका छन् । जुन कुल लगानीको ०.७७ प्रतिशत हो ।
यस्तै, पुनर्बीमा कम्पनीहरूले म्यचुअल फण्ड र नागरिक लगानी कोषमा ९ लाख रूपैयाँ, ख बर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १ अर्ब ७३ लाख २१ लाख ७५ हजार रूपैयाँ र अन्य लगानीमा १ अर्ब ५ लाख रूपैयाँ लगानी गरेका छन् ।
समितिद्धारा जारी बीमकको लगानी निर्देशिकाअनुसार पुनर्बीमा कम्पनीहरुले नेपाल सरकारको पूर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ । तर, सञ्चालनमा रहेका दुई पुनर्बीमा कम्पनीले सो क्षेत्रमा लगानी नै गरेका छैनन् । यस्तै, पुनर्बीमा कम्पनीहरूले घर जग्गामा बढिमा ५ प्रतिशत लगानी गर्न सक्ने व्यवस्था भएता पनि यस क्षेत्रमा पनि लगानी शून्य छ ।
समितिद्धारा जारी बीमकको लगानी निर्देशिकाअनुसार पुनर्बीमा कम्पनीले नेपाल सरकारका बचपत्रमा न्यूनतम ५ प्रतिशत, क वर्गको बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, घर जग्गामा बढिमा ५ प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बढीमा १० प्रतिशत, क, ख र ग बर्गको बैंक तथा वित्तीय संस्थाको सेयर र ऋणपत्रमा बढिमा २० प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेञ्चरमा बढिमा २० प्रतिशत, कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधारमा बढिमा २० प्रतिशत, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा बढिमा ५ प्रतिशत, ख बर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढिण्मा २० प्रतिशत र ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढिमा १० प्रतिशत लगानी गर्न सक्ने व्यवस्था छ ।
बीमा कम्पनीहरूमा लगानीयोग्य रकम थुप्रिँदै गएपछि लगानीका क्षेत्रहरू पनि विस्तार गर्नुपर्ने कम्पनीहरूले माग गर्दै आएका थिए ।
सोहीबमोजिम बीमा समितिले लगानी निर्देशिका जारी गरेको थियो । समितिले जीवन, निर्जीवन तथा पुनर्बीमा कम्पनीहरुले लगानी गर्ने क्षेत्रहरू तोकिदिएको थियो । निर्देशिकाले कम्पनीहरूको गणनायोग्य सम्पत्तिमा सीमा तोकी लगानीको क्षेत्र र दायरा तोकिदिएको थियो ।