सेयर बजारका ३२ वर्षे खेलाडी प्रकाश यसरी बने अर्जुनचौपारीको अध्यक्ष, ‘ब्लुचिप’ गाउँ बनाउने योजना



काठमाडौं । सेयर बजारका लगानीकर्ताबीच परिचित नाम हो, प्रकाश तिवारी ।

वर्षौंदेखि सेयर बजारको ‘बुलिस र बेयरिस खेल’मा अब्बल बनेका तिवारीको राम्रो ‘पोर्टफोलियो’ बनिसकेको छ ।

सेयर बजारको उत्साह, निराशा राम्रोसँग बुझेका छन् उनले । सेयर बजारमा बजार घट्दा आत्तिने र बढ्दा मात्तिने ‘खेलाडी’ सफल हुँदैन ।

उनले बजारबारेमा गरेका टिप्पणी यथार्थपरक हुन्छ । सेयर बजारलाई सही विश्लेषण गर्ने सक्ने क्षमता भएका तिवारीका कुरा सुन्न चाहने लगानीकर्ता पनि धेरै थिए ।

सेयर बजारका संयमित खेलाडी तिवारी भने यो साँघुरो क्षेत्रबाट फराकिलो दायरा बनाउन चाहन्थे । उनको चाहना थियो राम्रो ‘राजनीतिक पोर्टफोलियो’ बनाउने । यसैबीच मुलुकमा स्थानीय तह सदस्य निर्वाचन आउँदै थियो ।

सेयर बजारको बुलिस र बियरिस टे«ण्डबाट राजनीतिमा होमिने निर्णय गरे उनले । स्थानीय तहको निर्वाचनमा भाग लिएर राजनीति गर्ने निर्णय गरेका तिवारीले एउटा पार्टीबाट औपचारिक राजनीतिक गर्न चाहन्थे ।

तिवारीलाई असजिलो अवस्थामा सल्लाह दिने व्यक्ति हुन, नबिल बैंकका महाप्रवन्धक मनोज ज्ञवाली । ज्ञवालीसँग तिवारीले छलफल गरे ।

‘फोहोरी खेल बनेको नेपालको राजनीतिलाई अलिकति भए पनि सफा गर्ने निर्णयसहित उनले रोजे नेपाली कांग्रेस । निर्वाचनलाई मनमा राखेर राजनीतिमा आफ्नो भूमिका बढाउँदै गए ।

बजार अर्थतन्त्रका हिमायती तिवारी गत मंसिरमा भएको नेपाली कांग्रेसको अधिवेशनमा गृहजिल्लामा प्रदेश सभापति बन्दै राजनीतिक यात्राको पहिलो खुड्किलो पार गर्न सफल भए ।

सेयर बजार तथा कर्पोरेट क्षेत्रमा रमाइरहेका तिवारीको लक्ष्य बन्यो गाउँ पस्ने र गाउँको अवस्थालाई परिवर्तन गर्ने ।

कांग्रेसको महाधिवेशन सकिएसँगै स्थानीय तह निर्वाचनको चर्चा शुरु भइसकेको थियो । गाउँमा राजनीति गर्ने हो भने स्थानीय तह निर्वाचनमा भाग लिनु सबैभन्दा राम्रो माध्यम थियो ।

उनले एक साधारण योजना बनाए, आफ्नै ठाउँ स्याङजाको अर्जुनचौपारी गाउँपालिकाको पालिको अध्यक्ष पदका लागि पार्टीबाट टिकट लिने, चुनाव जित्ने र गाउँपालिका अध्यक्ष बनेर गाउँको सेवा गर्ने ।

प्रदेश सभापति जितेका तिवारी पार्टीका लागि आशा जगाउन युवा थिए । उनलाई अघि सार्दा धोका हुँदैन भन्ने पार्टीले सोचिसकेको थियो । यही आशा साथ पार्टीले निर्णय गर्यो- अर्जुनचौतारी गाउँपालिकाको अध्यक्ष पदमा प्रकाश तिवारीलाई उम्मेदवार बनाउने ।

अर्जुनचौपारी यसअघि २०७४ मा कांग्रेसले थोरै मतले जितेको ठाउँ हो । त्यो जितलाई जोगाउँदै पार्टीको प्रभाव बढाउनु उनको जिम्मेवारी थियो ।

उनी चुनावमा होमिए । प्रत्येक घरधुरी पुगे । पार्टीका कार्यकर्ता, नेता, अगुवा युवाहरुलाई उत्साह दिलाए । उनीहरुबाट राम्रो साथ पाए तिवारीले ।

अन्ततः चुनावी खेल उनको पोल्टामा आयो ।

भारतको गुरु नानकदेव विश्वविद्यालयबाट एमबीए सकेपछि उनी थप अध्ययनका लागि अमेरिका अष्ट्रेलिया जस्ता देश जान सक्थे । विदेश बसेरमात्र होइन नेपाल फर्केपछि पनि बैंक तथा बीमा ठूला कम्पनीमा जागिर खान सक्ने थिए ।

उनको रोजाई सेयर बजारमा लगानी गर्ने कम्पनी ‘हाथवे’ बन्यो । बजारका ठूला लगानीकर्ताहरुले कम्पनी ‘हाथवे’मा उनले धेरै कुरा सिके ।

हाथवेको महत्वकाक्षी योजना चन्द्रागिरि केवलकार बनाउन उनी धेरै खटेका थिए । जसले उनलाई पूर्वाधारका परियोजना कसरी बन्छन् भन्ने व्यवहारिक ज्ञान दियो ।

पारिवारिक पृष्ठभूमि व्यवसाय नभएपनि ३० वर्ष नपुग्दै उनी पाँच तारे होटल र्याडिसनको सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक बने । उनले ५ तारे होटलमा उठाउने आवाज सर्वसाधारण सेयरधनीको हितमा नै थियो ।

सेयर बजारमा लगानी गर्दा राम्रो कम्पनी छनोट गरेर नाफा कमाउने तिवारीलाई जनताले राम्रो प्रतिफल पाउने आशामा भोट दिएका छन् ।

गाउँपालिका अध्यक्षमा निर्वाचित भएका तिवारीले मतदातालाई ठूलो सपना देखाएका छन् । उनले गर्न सक्ने र जनताका न्यूनतम आधारभुत आवश्यक्ताहरु पूरा गर्ने सपना जनतालाई बाँडेका छन् ।

‘भ्रष्टाचाररहित प्रशासन तथा गुणस्तरीय विद्यालय शिक्षा र घरदैलोमा स्वास्थ्य सेवा कार्यकालको प्राथमिकता हो,’ तिवारीले क्लिकमाण्डूसँग योजना सुनाउदै भने ।

संविधानले स्थानीय तहलाई जनताको न्यूनतम आवश्यकता स्वास्थ्य र शिक्षाको काम गर्न सक्ने अधिकार दिएको छ । सरकारी विद्यालयमा सरकारको लगानी अनुसारको प्रतिफल छैन ।

गाउँपालिका अन्तर्गत हुने विद्यालय र स्वास्थ्य चौकी जनताले महशुस हुने गरेर सुधार्ने लक्ष्य तिवारीको छ ।

‘लगानी अनुसारको प्रतिफल सरकारी विद्यालयबाट आएको छैन । कम्पनीमा लगानी गरेपछि यसको ब्यालेन्ससिट हेर्दै लगानीको निर्णय लिएजस्तै अभिभावकलाई जिम्मेवार बनाएर विद्यालय सुधार्ने छौ,’ तिवारीले भने ।

यसका केही खाकाहरु जसलाई ५ वर्षभित्रमा पूरा गरेर देखाउने प्रतिबद्धता उनको छ ।

तिवारी निर्वाचनमा लाग्दै गर्दा भर्खरै जन्मिएकी छोरीसँग समय बिताउन पाएका छैनन् । सुत्केरी श्रीमती र भरखरै जन्मेकी छोरीले पढ्ने विद्यालयलाई सुधार्नेसँगै ग्रामीण अर्थतन्त्रको विकास गर्ने उनको योजना छ ।

युवा उद्यमशिलताको क्षेत्रमा काम गरेको उनी छिट्टै सफल उद्यमी बनेका तिवारीले अर्जुन चौपारीलाई अर्थतन्त्र सुधार्ने काम गर्ने योजना अगाडि सारेका छन् ।

उनले पर्यटन प्रवर्द्धन, खानेपानी तथा सरसफाईको उचित व्यवस्थापन तथा समतामूलक समाजको निर्माण गर्ने प्रतिबद्धता अगाडि सारेका छन् ।

जसलाई अर्जुनचौपारीको जनतालाई स्वीकृति दिएका छन् । अर्जुनचौपारीका जनताले ब्लुचिप मानेर लगानी गरेका तिवारीले कस्तो प्रतिफल दिन्छन् त्यो कुर्न ५ वर्ष हेर्नु नै पर्छ ।

सेयर बजारमा ब्लुचिप कम्पनी भनेको लगानीका लागि अत्यन्तै सुरक्षित र राम्रो मानिन्छ । सेयर बजारमा त्यस्तै ब्लुचिप कम्पनीमा लगानी गरेर मनग्गे प्रतिफल लिन सफल भएका तिवारी अर्जुनचौपारी गाउँपालिकालाई आफ्नो कार्यकालमा ब्लुचिप कम्पनी जस्तै समृद्ध बनाउने योजना बुनेका छन् ।


क्लिकमान्डु