चुनावको माहोलमा सुस्तायो घरजग्गा कारोबार, वैशाखमा ४४ हजार मात्रै किनबेच



काठमाडौं । तरलताको चरम अभावमा कुनै असर नदेखिएको घर जग्गाको कारोबार स्थानीय तहको निर्वाचनमा सुस्ताएको छ ।

बैंकिङ प्रणालीमा तरलता अभाव निकै चर्किएको अवस्थामा समेत मासिक ७० हजारको हाराहारीमा किनबेच हुँदै आएको घरजग्गा कारोबारमा चुनावले भने करिब ५० प्रतिशत घटेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको वैशाख महिनामा हालसम्मकै कम घरजग्गा कारोबार भएको छ ।

असोज र कात्तिकमा चाडपर्वको समयमा पनि मासिक ५० हजारभन्दा बढी घरजग्गाको किनबेच भएको थियो । तर, निर्वाचनको महिना वैशाखमा भने घरजग्गा कारोबार ब्रेक लागेको विभागले जनाएको छ ।

गत चैतमा करिब ७१ हजारको हाराहारी किनबेच भएको घरजग्गा वैशाखमा भने ४४ हजारमा सीमित भएको छ । वैशाख महिनामा देशभरका मालपोत कार्यालयबाट करिब ९९ हजार सेवाप्रवाह हुँदा ४४ हजार ८०३ घरजग्गा किनबेच भएको तथ्यांक छ ।

वैशाख महिनामा देशभरका मालपोत कार्यालयबाट ४४ हजार ८०३ लिखत पारित हुँदा ३ हजार २०३ नामसारी, २ हजार ५१३ संशोधन, २३ हजार ३३५ रोक्का, १५ हजार १३१ फुकुवा र १३ सय ५१ दाखिला खारेज गरेको छ ।

वैशाख महिनामा सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीबाट भएको छ । हरेक महिना उच्च रुपमा कारोबार हुँदै आएको इनरुवा मालपोत कार्यालयबाट वैशाख महिनामा मात्रै २ हजार ६४ घरजग्गा किनबेच भएको छ । उक्त किनबेच भएको घरजग्गाको संख्या हालसम्मकै कम हो ।

त्यस्तै, बेलबारी मोरङबाट १८ सय ८९, भद्रपुर झापाबाट १७ सय २०, जनकपुरधाम धनुषामा १५ सय ३६, ललितपुर लगनखेलबाट १४ सय ३१ र नेपालगञ्जबाट १३ सय ७९, भक्तपुरबाट १३ सय १६ र चितवनबाट ११ सय ३५ घरजग्गा किनबेच भएको छ ।

काठमाडौंमा ६ हजार घरजग्गा किनबेच
वैशाख महिनामा ४४ हजारको हाराहारीमा घरजग्गा किनबेच हुँदा उपत्यकामा ६ हजार १०९ घरजग्गा किनबेच भएको छ । चैत महिनामा उपत्यकामा ८ हजार ८५३, फागुनमा ५५ सय ३६ घरजग्गा किनबेच भएको थियो ।

वैशाख महिनामा तीन वटा जिल्लाको मालपोत कार्यालयबाट १५ हजार सेवा प्रवाह भएको थियो ।वैशाख महिनामा उपत्यकामा

सबैभन्दा बढी ललितपुर मालपोत कार्यालयबाट किनबेच भएको छ । उक्त मालपोत कार्यालयबाट १४ सय ५१ वटा घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

त्यसैगरी, भक्तपुरबाट १३ सय १६, कलंकीबाट ११ सय १०, साँखुबाट ७४१, चावहिलबाट ५ सय ६३, मनमैजुबाट ४४४, डिल्लिबजारबाट २७७, टोखाबाट २११ र गोटीखेलबाट १६ वटा घरजग्गाको किनबेच भएको छ ।

पौने ५ अर्ब बढी राजस्व संकलन
वैशाख महिनामा विभागले देशभरबाट पौने ५ अर्ब बढी राजस्व संकलन गरेको छ । विभागका अनुसार वैशाखमा देशभरको मालपोत कार्यालयबाट ४ अर्ब ७८ करोड ५ लाख २८ हजार राजस्व संकलन गरेको छ ।

सो महिना सेवा करवापत ७२ करोड ७८ लाख ४६ हजार, बागमतीवापत १९ करोड, रजिष्ट्रेशन दस्तुरबाट २ अर्ब ५१ करोड १९ लाख, पुँजीगत लाभकरवापत ९४ करोड ३७ लाख र अन्य विभिन्न विधामा सो राजस्व संकलन भएको हो ।

साथै, देशभरको मालपोत कार्यालयबाट दिने छुटबापत विभागले ३७ करोड ८४ लाख ५८ हजार रुपैयाँ छुट दिएको छ ।

संकलित राजस्वमध्ये सबैभन्दा बढी भक्तपुरबाट संकलन गरेको छ । जसमा भक्तपुरबाट ८१ करोड २२ लाख, लगनखेलबाट २७ करोड ७१ लाख, डिल्लिबजारबाट ३७ करोड १५ लाख, कलंकीबाट २४ करोड ८८ लाख, चावहिलबाट ११ करोड १४ लाख, कास्की १० करोड ४५ लाख र चितवनबाट १० करोड ३४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।


क्लिकमान्डु