चुनावले कांग्रेसलाई बनायो सबैभन्दा ठूलो राजनीतिक दलः ६३ पालिका प्रमुख जित्यो, २४६ स्थानमा अगाडि



काठमाडौं । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्तासीन दल नेपाली कांग्रेस एक्लैले ६३ पालिका प्रमुख जितेको छ भने दुई महानगरपालिकासहति २४६ पालिका प्रमुखमा लिड गरिरहेको छ ।

त्यसैगरी, अहिलेसम्मको निर्वाचनको नतिजाअनुसार कांग्रेसले ६५ पालिकामा उपप्रमुख जितेको छ भने २११ उपप्रमुखमा लिड गरिरहेको छ ।

कांग्रेसले ६ महानगरपालिकामध्ये ललितपुर र बिराटनगरमा लिड गरिरहेको छ । अहिलेसम्मको मत परिणाम अनुसार यो निर्वाचनमा ७५३ स्थानीय तहमध्ये कांग्रेसले ३०० स्थानीय तहको प्रमुखमा जित्ने देखिएको छ । मतगणना भइरहेकाले यो संख्यामा केही थपघट हुनसक्छ ।

तर, यो चुनावको परिणामपछि कांग्रेस स्थानीय निर्वाचनका आधारमा सबैभन्दा ठूलो राजनीकि दल बन्ने निश्चित छ । कम्युनिष्ट पार्टी फुटेका बेला कम्युनिष्ट पार्टीसँगै गठबन्धन गरेर कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने भएको हो ।

२०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले जम्मा २६६ स्थानमा प्रमुख जितेको थियो । त्यो भनेको कूल स्थानीय तहको ३५ प्रतिशत हो । उक्त निर्वाचनमा २९४ स्थानमा प्रमुख जितेर एमाले सबैभन्दा ठूलो राजनीतिक दल बनेको थियो । त्यो बेला कुल स्थानीय तहमा एमालेले ३९ प्रतिशत जितेको थियो ।

तर, यो निर्वाचनमा भने एमाले निकै खुम्चिने देखिएको छ । एमालेले अहिलेसम्म ४९ स्थानीय तहको प्रमुख जितिसकेको छ भने १३८ स्थानमा लिड गरेको छ । त्यस्तै, एमालेले ४४ स्थानीय तहको उपप्रमुख जितेको छ भने १६५ स्थानका उपप्रमुखमा लिड गरेको छ । यो निर्वाचनमा एमालेले बढीमा २०० स्थानीय तहको प्रमुख मात्रै जित्ने देखिन्छ ।

उक्त निर्वाचनमा १०६ पालिका प्रमुख (१४ प्रतिशत) जितेर माओवादी तेस्रो स्थानमा थियो । यो चुनावमा पनि माओवादीले १०० देखि ११० स्थानीय तहको प्रमुखमा जित्ने देखिन्छ । अहिलेसम्मको नतिजाअनुसार ३० पालिका प्रमुख जितिसकेको छ भने ८६ स्थानमा लिड गरिरहेको छ । २२ स्थानमा उपप्रमुख जितेको छ भने १०६ स्थानमा उपप्रमुख लिड गरिरहेको छ ।

यो स्थानीय तहको निर्वाचनले माधव नेपालको नेपा कम्युनिष्ट पार्टी एकीकृत समाजवादी चौथो वा पाँचौं शक्तिको रुपमा उदाउने देखिन्छ । अहिलेसम्म एकीकृत समाजवादीले २ स्थानीय तहको प्रमुख जितिसकेको छ भने १८ स्थानको प्रमुखमा लिड गरिरहेको छ । त्यस्तै, ७ उपप्रमुख जितिसकेको छ भने १६ उपप्रमुखमा लिड गरिरहेको छ ।

जनता समाजवादी पार्टीले अहिलेसम्म एउटा पनि स्थानीय तहको प्रमुख जितेको छैन । तर, उसले ३० प्रमुखमा लिड गरिरहेको छ । जनता समाजवादीले २ उपप्रमुख जितेको छ भने २८ स्थानमा उपप्रमुखको लिड गरिरहेको छ ।


क्लिकमान्डु