अपडेटः भरतपुरमा विजय सुवेदी र रेनु दाहालबीचको मतान्तर अहिलेसम्मकै उच्च



काठमाडौं । भरतपुर महानगरको मेयर पदमा एमालेका उम्मेदवार विजय सुवेदीले माओवादीकी उम्मेदवार रेनु दाहालसँगको मतान्तर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि अधिकतम ५० मतले रेनुलाई पछाडि पारेका बिजयले पछिल्लो मतपरिणाम अनुसार ६१ मतले पछि पारेका छन् ।

पछिल्लो अपडेट अनुसार राप्रपा-एमाले गठबन्धनका सुवेदीले ४४ सय मत प्राप्त गरेका छन् भने कांग्रेस-माओवादी गठबन्धनकी उम्मेदवार रेनुले ४३ सय ३९ मत प्राप्त गरेकी छन् ।

यसअघि सुवेदीले दाहाललाई ३०, ३३, ३७ हुँदै ५० मतसम्मले पछि पारेका थिए । तर, त्यसपछिको अपडेटमा भने उक्त मतान्तरलाई घटाएर रेनुले ३७ मा झारेकी थिइन् । पछिल्लो अपडेटअनुसार सुवेदीले फेरि मतान्तर बढाएका हुन् ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १९ सय ४० मत ल्याएका छन् ।

यसअघिको निर्वाचनमा पनि रेनुले हार्ने भएपछि माओवादी कार्यकर्ताले मतपत्र च्यात्ने र चपाउने कार्य गरेका थिए । दोस्रो पटक भएको निर्वाचनमा मात्रै रेनुले जितेकी थिइन् । यो पटक पनि माओवादीबाट मतगणना जोगाउन सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ ।

अघिल्लो चुनावमा मतगणनामा बसेका रेणुका प्रतिनिधिले मतपत्र च्यात्ने र चपाउने गरेका कारण यो चुनावमा गणनास्थलमा दलका प्रतिनिधिलाई प्रवेश दिइएको छैन । तारजालीले बलियोसँग बारेको बारभित्र कर्मचारीहरुले मत गन्छन् । तारजाली बाहिर बसेका दलका प्रतिनिधिलाई देखाउँछन् ।

रेनु माओवादी अध्यक्ष प्रचण्डकी छोरी समेत हुन् । मौन अवधिमा समेत प्रचण्डले चितवनमै बसेर निर्वाचन आचार संहिताविपरित रेनुको पक्षमा भोट मागेका थिए ।

त्यतिमात्रै होइन, रेनुलाई गठबन्धनका तर्फबाट भोट माग्नका लागि गरिएको आमसभामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकैअघि कांग्रेसीहरुले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जानसक्ने खतरा रहेको भन्दै मतदातालाई धम्क्याएका थिए ।


क्लिकमान्डु