कृष्णपुर नगरपालिकामा मतगणना स्थगित, पुनः मतदान हुनुपर्ने एमालेको माग



काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मतगणना स्थगित भएको छ ।

कृष्णपुर नगरपालिका ९ को पञ्चाधिन माध्यामिक विद्यालयको बुथ केन्द्रको मतगणना हुँदा खसेको मतभन्दा बढी मत गणना गर्दै नतिजा सार्वजनिक भएपछि नेकपा एमाले र माओवादी केन्द्रले विरोध गरेका हुन् ।

पञ्चाधिन बुथ केन्द्रमा १ हजार ९ सय १४ मत खसेकोमा २ हजार ६४ मत गणना भएको भन्दै नतिजा प्रकाशित गरिएको थियो ।

कृष्णपुर नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत नरेन्द्रबहादुर बुढाले कम्पुटरमा डाटा इन्ट्री गर्दा गल्ती भएको जानकारी दिए ।

‘विवादपछि पुनः मत गणना गर्दा मुचुल्कामा उल्लेख भए अनुसारको मतपत्र पाइएको छ,’ बुढाले भने,‘ कम्प्युटरमा तथ्यांक इन्ट्री गल्ती भएको थियो । अहिले हामी छलफलमा छौँ ।’

नेकपा एमालेले भने धादली भएको भन्दै पुनः मतदान हुनुपर्ने माग गरेको छ ।

तर, प्रमुख निर्वाचन अधिकृत बुढा खसेकोभन्दा बढी मत नभेटिएको र रेकर्ड राख्दा त्रुटी भएको भन्दै मतगणना सुचारु हुने बताउँछन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणम अनुसार नेकपा एमालेका मेयर उम्मेदवारले ५ सय २९, नेपाली कांग्रेसका मेयर उम्मेदवारले ८ सय ९८ र माओवादी केन्द्रका उम्मेदवारले ४ सय ७९ मत पाएका छन् ।

यस्तै वडा अध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेदवार एमाले भन्दा ३ सय २४ मतले अगाडी देखिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले तथ्यांक रेकर्ड राख्दा भएको त्रुटी सच्चाएर मतपरिणाम सार्वजनिक गर्दा समेत नेकपा एमाले र माओवादी केन्द्रले विवाद गरेपछि मतगणना अगाडि बढ्न सकेको छैन् ।

नेकपा एमाले र माओवादी केन्द्रले पुनः मतदान हुनुपर्ने माग राख्दै आएका छन् ।


क्लिकमान्डु