बीमा समितिले ९४ उजुरीको फैसला गर्यो, १९४ बाँकी



काठमाडौं । बीमा समितिले ९४ वटा उजुरीको फैसला गरेको छ ।

समितिले बीमा कम्पनीविरूद्ध बीमितले दर्ता गराएका उजुरीमध्ये ९४ वटा उजुरीको फैसला गरेको हो ।

बीमितले दिएका बीमा दाबी सम्बन्धी उजुरीहरूलाई प्राथमिकताका साथ निर्णय प्रक्रियामा सामेल गरी ती उजुरीलाई किनारा लगाइएको समितिले जनाएको छ ।

चालु आवको हालसम्ममा समितिमा २८८ वटा मुद्दा दर्ता भएका छन् ।

समितिले चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म समितिमा दर्ता भएका र फैसला हुन बाँकी कुल २८८ उजुरीमध्ये बीमक र बीमितबीच आपसी सहमति तथा मेलमिलापबाट ९४ वटा उजुरीको किनारा लगाएको हो ।

समितिका अनुसार बीमितले कम्पनीविरूद्ध दर्ता भएका १९४ वटा मुद्दा किनारा लाग्न बाँकी छन् ।

बीमितले कम्पनीले गरेको दाबी भुक्तानीमा चित्त नबुझेमा ती कम्पनीविरूद्ध बीमा समितिमा गई उजुरी दिन सक्ने व्यवस्था छ ।

बीमा ऐन, २०४९ ले बीमा समितिलाई बीमित र बीमकको बीचमा उत्पन्न हुने बीमा सम्बन्धी विवादमा मध्यस्थता गर्ने एवं बीमा दायित्व निर्धारणका सम्बन्धमा बीमकका विरूद्ध बीमितले दिएको उजुरीमाथि निर्णय गर्ने अर्धन्यायिक निकायका रूपमा स्थापना गरेको छ ।


क्लिकमान्डु